आकर्षक नाफा बढाएका कम्पनीका विवरणले पनि सुध्रिएन शेयर बजार

0
Shares

नेप्सेमा सूचिकृत कम्पनीहरुले उल्लेखीय रुपमा नाफा बढाएका वित्तीय विवरण सार्वजनिक गरिरहँदा यता शेयर बजारमा भने निरन्तर गिरावट देखिएको छ । लगातार तेस्रो दिन नेप्से सूचकमा गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक नेप्से सोमबार ४.५५ अंकले घटेर १२५५.०९ अंकमा ओर्लिएको छ। तीन कारोबार दिनमा नेप्से सूचक १०.४२ अंकले घटेको छ ।

११ समूहको कारोबारमा दुई समूहको उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक राता देखिएका छन्।

बैक समूह २.८३, होटल समूह ३.८६, विकास बैक समूह ३.४४,जलविद्युत समूह १.८२, वित्तीय समूह ३.५२, उत्पादन मूलक समूह १६.०९, अन्य समूह २.९१, माईक्रोफाईनान्स समूह २७.०२, जीवन बीमा समूह २१.८४ अंकले घटेका छन् । निर्जीवन बीमा समूह ३.४९ अंकले बढेका छन् भने म्युचुअल फण्ड समूह ०.११ अंकले बढेका छन् ।

बजार घट्ने क्रममा कारोबार रकम पनि सामान्य रहेको छ । सस्तो मूल्यमा शेयर उठाउनेहरु सक्रिय रहँदा कारोबार रकममा ठूलो गिरावट भने आएको छैन । सोमबार १ सय ६७ कम्पनीका १५ लाख कित्ता शेयर ४४ करोड ३२ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल बैकको दुई करोड ६९ लाख रुपैयाँमा शेयर कारोबार भएको छ। 

पूँजीगत लाभकरकै विवाद पूर्ण रुपमा साम्य नभएकाले पनि शेयर लगानीकार्ताहरु अलमलमा देखिएका छन् । कम्पनीका प्रगति विवरणले पनि लगानीकर्तालाई खासै आर्कषीत गर्न सकेका छैनन् ।

सोमबारको कारोबारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी शेयर मूल्य बढेको छ। उसको प्रति कित्ता करिब पाँच प्रतिशतले बढेको छ । यस्तै रिलायन्स फाइनान्सको शेयरमूल्य ३.३३ प्रतिशत, एनएमबी हाईब्रिड फण्ड १ को इकाईमूल्य, युनिभर्सल पावर र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले बढेकाे छ ।

यता स्पर्श, सर्पोट र गुराँस लघुवित्तको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। स्पर्शको ९.९१ प्रतिशत, सपोर्टको ९.५६ र गुराँस लघुवित्तको शेयरमूल्य ९.३२ प्रतिशतले घटेको हो । यस्तै मिथिला लघुवित्तको ८.१०, इन्फिनीटि लघुवित्तको ७.१०, नेपाल सेवाको ७.०८ प्रतिशतले शेयरमूल्य ओरालो लागेका हुन् ।