जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने


काठमाडौँ । ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। काठमाडौंस्थित द प्लाजामा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो।

नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको जनाएको छ। यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर ओरा ५ ईभी सार्वजनिक गरिएको जनाएको छ। यसले सुरक्षित, स्मार्ट र दिगो यातायातको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध रहेका छन्। मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उक्त गाडीले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्नुका साथै २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता सुविधा उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ ।

सुरक्षातर्फ, ओरा ५ ईभीले ५–स्टार एएनक्याप तथा ५-स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर समावेश छन्। साथै लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन लगायतका सुरक्षा प्रविधि पनि उपलब्ध छन्। गाडीमा सामान राख्नका लागि ३३ वटा स्टोरेज स्पेस रहेको कम्पनीले जनाएको छ।

जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको र हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको कम्पनीको दाबी छ। ३५ वर्षभन्दा लामो अनुभव, अनुसन्धान तथा विकासमा गरिएको लगानी र उत्पादन गुणस्तरका कारण जीडब्लुएम विश्वका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये एक बनेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।