काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण प्रारम्भ भएको छ ।
विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यपालिका अनुरूप तीन वटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो ।
उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियाको विस्तृत कार्यपालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको छ ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक विज्ञहरूको प्यानलको व्यवस्था गरिएको छ ।
पूर्वनिर्धारित कार्य तालिकाअनुसार भोलि सोमबार बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुने जनाइएको छ ।
यसअघि शनिवार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सम्पन्न भएको थियो ।
यससँगै आठ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउनेछ, जसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया