काठमाडौँ । नेपालमा सौन्दर्यका सामग्री आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्म नेपालमा सौन्दर्यका सामग्री आयात गत वर्षको तुलनामा ११.०७ प्रतिशतले बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समिक्षा अवधीमा १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ४२ हजार किलोग्राम विभिन्न सौन्दर्यका सामग्रीहरु आयात भएको छ । सो परिणाममा सामग्री आयात गर्दा ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा ११ अर्ब २८ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७१ हजार किलोग्राम विभिन्न सौन्दर्यका सामग्रीहरु आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
समिक्षा अवधीमा लिपस्टिक आयातमा मात्रै ७१ करोड ७४ लाख ८५ हजार रुपैयाँ बाहिरीएको छ । ११ महिनामा १ लाख ८५ हजार ९४५ किलोग्राम लिपस्टिक आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ । गत वर्षको सोही अवधीमा ५९ करोड ३७ लाख रुपैयाँ बराबरको लिपस्टिक आयात भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १२ करोड ३७ लाख रुपैयाँ बढीको लिपस्टिक आयात भएको हो ।
त्यसैगरी, समिक्षा अवधीमा आँखाको मेकअप गर्ने सामग्रीहरु ४९ हजार २३४ किलोग्राम आयात भएको छ । उक्त परिणामको आँखाको मेकअप सामग्री भित्रिदा २७ करोड ४२ लाख रुपैयाँ बाहिरीएको हो ।
नेल पोलिस आयातमा ५ करोड ८८ लाख रुपैयाँ बाहिरीएको छ । समिक्षा अवधीमा २६ हजार ८३१ किलोग्राम नेल पोलिस आयात गर्दा उक्त रकम बिदेशीएको हो । त्यस्तै, ११ महिनामा ६७ हजार २७० किलोग्राम विभिन्न मेडिक्अर÷पेडीक्अरका सामग्रीहरु आयात गर्दा ५ करोड २९ लाख रुपैयाँ बाहिरीएको छ ।
एक अर्ब बढीको फेस क्रिम आयात
चालु आवको जेठ मसान्तसम्ममा मुलुकमा फेस क्रिम मात्रै १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ बराबरको ५ लाख ८० हजार किलोग्राम भित्रिएको छ । जुन गत वर्षको तुलनामा ५४ करोड ८७ लाख रुपैयाँको बढी हो ।
गत वर्षको सोही अवधीमा १ अर्ब १६ करोड ४७ लाख रुपैयाँ बराबरको फेस क्रिम आयात भएको थियो । त्यस्तै, ११ महिनामा २५ करोड ७३ लाख रुपैयाँ बराबरको २ लाख ४७ हजार किलोग्राम पाउडर आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
७२ करोडभन्दा बढीको बडीलोसन
विभागको तथ्यांक अनुसार जेठ मसान्तसम्म ७२ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको ५ लाख ७९ हजार ५६८ किलोग्राम बडीलोसन आयात भएको छ । त्यसबाट मुलुकले ३६ करोड ५७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्षको सोही अवधीमा ६६ करोड ३ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ३० हजार किलोग्राम बडीलोसन आयात भएको थियो ।
महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत करोडौँ खर्च हुने गरेको छ । ११ महिनामा १ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको ६० हजार ८२७ किलोग्राम सिन्दुर आयात भएको छ । सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । त्यस्तै ४ अर्ब ४७ करोड २ लाख रुपैयाँ बराबरको २३ लाख २ हजार किलोग्राम अन्य शृङ्गारका सामान आयात भएको छ ।
स्याम्पु आयातमा एक अर्ब बढी बिदेसियो
समिक्षा अवधीमा हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं विदेशिने गरेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । चालु आवको ११ महिनामा १ अर्ब १३ करोड २३ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ३६ हजार ६१४ लिटर स्याम्पु आयात भएको छ ।
गत वर्षको तुलनामा स्याम्पु आयात भने घटेको छ । गत वर्षको सोही अवधीमा १ अर्ब १७ करोड ११ लाख रुपैयाँ बराबरको २६ लाख २४ हजार लिटर स्याम्पु आयात भएको थियो । यसैबीच ३ करोड ७० लाख रुपैयाँ बराबरको कपाल कर्ली वा स्ट्रेट गर्ने सामग्री आयात भएको छ । ११ महिनामा ६४ करोड ३४ लाख रुपैयाँ बराबरको ११ लाख ७४ हजार लिटर कपालमा लगाउने तेल आयात भएको छ ।
कपाल रङ्गाउनकै लागि प्रयोग हुने १० लाख ९६ हजार किलोग्राम सामग्री आयातमा १ अर्ब १ करोड २४ लाख रुपैयाँ बराबरको रकम बाहिरीएको छ । त्यस्तै, कपालमा लगाउने विभिन्न किसिमका क्रिमहरु ४ करोड ३९ लाख रुपैयाँ बराबरको ६२ हजार किलोग्राम आयात भएको छ भने कन्डिस्नर मात्रै १२ करोड १३ लाख रुपैयाँ बराबरको १ लाख ८४ हजार किलोग्राम र कपालमा प्रयोग हुने अन्य सामग्रीहरु १ अर्ब २ करोड ५८ लाख रुपैयाँ बराबरको आयात भएको भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा भियतनाम, अमेरिका, यूके, यूएई, युक्रेन लगायत ७५ वटा मुलुकबाट सौन्दर्यका विभिन्न सामग्रीहरु आयात भएको छ । जसमा सबैभन्दा धेरै भियतनामबाट ७ अर्ब ८० करोड ४३ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ ।
त्यसैगरी, अमेरिकाबाट १९ करोड ७३ लाख रुपैयाँको, यूकेबाट १७ करोड ७४ लाख रुपैयाँको, यूएईबाट १६ करोड ७९ लाख रुपैयाँको र युक्रेनबाट १३ करोड ७ लाख रुपैयाँ बराबरको सामग्री भित्रिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया