स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट


काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १५८ वटा परियोजनाको प्रस्ताव परेको थियो । तीमध्ये प्रारम्भिक चरणको छनोटमा १ हजार २९८ परियोजनाहरू परेका थिए ।

छनोटमा परेका आवेदकहरूलाई देशका प्रमुख सात सहरहरू विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रस्तुतीकरण (प्रिजेन्टेसन) का लागि बोलाइएको थियो ।

सिफारिस भएका ९६६ परियोजनाहरू भौगोलिक रूपमा पनि समावेशी देखिएका छन् । सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका स्टार्टअपहरू यसमा समेटिएका छन् ।

छनोट भएका प्रस्तावकले तोकिएको बैंक शाखा कार्यालयबाट कर्जा प्राप्त गर्न आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।

सिफारिसमा परेका स्टार्टअप परियोजनाहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत वार्षिक मात्र तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन् ।

सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ बमोजिम प्रति परियोजना अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।