केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार ? नेपालको सफ्टवेयर विकास फ्रेमवर्कबारे राष्ट्रिय अन्तरक्रिया आयोजना


काठमाडौँ । कम्प्युटर एशोसिएसन नेपाल महासंघको सफ्टवेयर एण्ड सर्भिस समिटीले ‘केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार ? नेपाली प्रविधि र रोजगारीको भविष्य’ विषयमा राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा नीति निर्माता, सरकारी निकाय, सफ्टवेयर कम्पनी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ, शैक्षिक संस्था, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालको डिजिटल रूपान्तरणलाई थप प्रभावकारी बनाउने, स्वदेशी सफ्टवेयर उद्योगको विकास गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दक्ष जनशक्तिका लागि रोजगारीका अवसर विस्तार गर्ने विषयमा कार्यक्रम केन्द्रित रहनेछ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीद्वारा विकसित ूनेपालको सफ्टवेयर विकास अवधारणागत फ्रेमवर्क प्रस्तुत गरिनेछ।

उक्त अवधारणागत फ्रेमवर्कले नेपालमा दिगो, सुरक्षित, प्रतिस्पर्धी तथा नवप्रवर्तनमुखी सफ्टवेयर इकोसिस्टम निर्माणका लागि रणनीतिक मार्गचित्र प्रस्तुत गर्दछ। यसले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, स्टार्टअप, अनुसन्धान संस्था तथा विकास साझेदारबीच सहकार्यलाई सुदृढ गर्दै स्वदेशी सफ्टवेयर उद्योगको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रस्तावित फ्रेमवर्कले खुला बजारको सिद्धान्तलाई सम्मान गर्दै राष्ट्रिय आवश्यकता अनुसार स्वदेशी सफ्टवेयर विकासलाई प्रोत्साहन गर्ने सन्तुलित नीतिगत दृष्टिकोण प्रस्तुत गर्दछ।

प्रस्तावित सफ्टवेयर विकास फ्रेमवर्कका प्रमुख उद्देश्य:

नेपालको स्वदेशी सफ्टवेयर उद्योगलाई नीतिगत रूपमा सुदृढ बनाउने साथै नेपाली कम्पनीद्वारा विकसित सफ्टवेयरको प्रयोग र विकासलाई प्रोत्साहन गर्ने।

खुला प्रतिस्पर्धासँगै स्वदेशी नवप्रवर्तन र उद्यमशीलताको संरक्षण गर्ने र सफ्टवेयर इन्जिनियर तथा आइसीटि जनशक्तिका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्नुका साथै विदेशी सफ्टवेयरमाथिको निर्भरता घटाई स्वदेशी प्रविधि विकासलाई प्रोत्साहन गर्ने।

साइबर सुरक्षा, गुणस्तर, अन्तरसञ्चालन तथा अन्तर्राष्ट्रिय मापदण्डलाई प्रवर्द्धन गर्ने र अनुसन्धान, नवप्रवर्तन तथा उत्पादनमुखी सफ्टवेयर विकासलाई प्राथमिकता दिनुका साथै स्टार्टअप तथा साना(मझौला सफ्टवेयर कम्पनीहरूको क्षमता अभिवृद्धि गर्ने।

सफ्टवेयर निर्यात विस्तार गरी नेपाललाई क्षेत्रीय प्रविधि केन्द्रका रूपमा स्थापित गर्नुका साथै सरकार, निजी क्षेत्र, उद्योग तथा शैक्षिक संस्थाबीच प्रभावकारी सहकार्यको वातावरण निर्माण गर्ने।

कार्यक्रममा केन्द्रीकृत सफ्टवेयर विकास, खुला बजार प्रणाली, सरकारी सफ्टवेयर खरिद नीति, डिजिटल सार्वभौमिकता, साइबर सुरक्षा, सार्वजनिक–निजी साझेदारी, सफ्टवेयर मापदण्ड, स्टार्टअप विकास, सफ्टवेयर निर्यात तथा नेपालको भावी सफ्टवेयर नीतिबारे विस्तृत छलफल हुनेछ।

अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई नेपालको राष्ट्रिय सफ्टवेयर फ्रेमवर्क निर्माण, डिजिटल नीति सुधार, स्वदेशी आईटी उद्योग प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको विकासमा उपयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।