झापामा सात लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन


झापा । झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । आर्थिक वर्ष २०८२/८३ मा वर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौ गरी छ प्रकारका सात लाख ६१ हजार ४३२ दशमलव ७८ मेट्रिकटन खाद्यान्न भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

सो अवधिमा चैतेधान ८९ हजार ६५५.३ मेट्रिकटन, वर्खे धान तीन लाख ७७ हजार ५३४.३५ मेट्रिकटन, मकै दुई लाख ८३ हजार १८७.८८ मेट्रिकटन, कोदो ८६९.४७ मेट्रिकटन उत्पादन भएको छ ।

फापर तीन हजार ७५८.७ मेट्रिकटन, गहुँ छ हजार ४१९ मेट्रिकटन र जौ ८.१ एक मेट्रिकटन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।

खेतीको क्षेत्रफल क्रमशः घट्दो

पछिल्लो तीन वर्षयता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ । आर्थिक वर्ष २०८०र८१ मा एक लाख ४३ हजार ८१५ हेक्टरमा वर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौखेती गरिएको थियो । जसमा यी छ प्रकारका खाद्यान्न आठ लाख ६३ हजार २३८.८ मेट्रिकटन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा एक लाख ४५ हजार ३२६.०६ हेक्टरमा आठ लाख ५२ हजार २०८.२५ मेट्रिकल खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाको खाद्यान्न बालीहरूको तथ्याङ्क विवरणमा उल्लेख छ ।

यता, चालु आर्थिक वर्ष २०८२/८३ मा एक लाख ३० हजार ३८६ हेक्टरमा सात लाख ६१ हजार ४३२.७९ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा ती छ बालीको खेतीको क्षेत्रफल १४ हजार ९४० हेक्टर घटेको छ भने ९० हजार ७७५ मेट्रिकटन खाद्यान्न उत्पादनमा कमी आएको छ ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।