काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।
कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिइन् ।
कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “ल्यान्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि कामपाले वार्षिक करिब एक अर्ब रुपैयाँ खर्च गरेको छ । पछिल्लो समय महानगरपालिकाले विभिन्न स्थानमा सहरबाट उत्पादित फोहरलाई स्रोतमै वर्गीकरणमात्र घटाएर ल्यान्डफिल साइट पुर्याउने कार्यलाई प्राथमिकता दिएको छ ।
फोहरको भारका आधारमा उपत्यकाका स्थानीय तहबाट वित्तीय साझेदारीको अपेक्षा गरिएको जनाउँदै महानगरपालिकाले यसबाट स्थानीय तहलाई आफूले उत्पादन गरेको फोहर व्यवस्थापनमा अपनत्वबोध गराउने स्पष्ट पारेको छ ।
महानगरपालिकाले फोहरको भारका आधारमा वित्तीय साझेदारीको अवधारण अघि सारेको छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा तुलनात्मक रूपमा धेरै फोहर उत्पादन हुने भएकाले करिब ५० प्रतिशत वितीय जिम्मेवारीको हिस्सा लिन आफूहरू तयार रहेको कार्यवाहक प्रमुखले स्पष्ट पारिन् ।
साइटको आयु बढाउन फोहर वर्गीकरण, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग विधिको प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो । हाल काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका स्थानीय तहमा उत्पादन भएको फोहर व्यवस्थापन बञ्चरेडाँडामा भइरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितका पदाधिकारी र वातावरण व्यवस्थापन विभागका अधिकारीसँग बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन के–कस्तो उपाय र प्रविधि प्रयोग गरी फोहर व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको महानगरपालिकाले जनाएको छ ।










प्रतिक्रिया