माघको तुलनामा फागुनमा महङ्गी बढ्यो

0
Shares

चालु आर्थिक वर्षको फागुन महिनामा उपभोक्ता मुल्य वृद्धि बढेको छ । यो अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको माघ महिनामा बार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७० प्रतिशत थियो । गत आर्थिक वर्षको यहि अवधिमा मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो।

चालु आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।

२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।

चालु आवको सो अवधिमा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

२०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो।

चालु आवको फागुनसम्ममा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । फागुनमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ।

२०७७ फागुनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । चालु आवको फागुनमा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ भने तलव सूचकाङ्क यथावत रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत २०७७, सोमबार  १९ : २६ बजे