बर्डफ्लूको असर : उपत्यकामा खसीको मासु किलोमै ३०० रुपैयाँसम्म महँगियो


काठमाडौँ । काठमाडौँ उपत्यकामा कुखुरामा बर्डफलु संक्रमण तिव्र फैलिएपछि खसीको मासुको मूल्य बढ्न थालेको छ ।

व्यापारीहरुले एक महिनाभित्र खसीबोकाको मासुको मूल्य प्रतिकेजी २०० देखि ३०० रुपैयाँसम्म बढाउन थालेको छन् । खसीको मासुको माग बढेसँगै बजारमा व्यापारीले मूल्य उच्च बनाएका हुन् ।

केही साताअघिसम्म प्रतिकिलोग्राम १ हजार २०० देखि १ हजार ३०० रुपैयाँ रहेको खसीको मासु अहिले १ हजार ५०० देखि १ हजार ६०० रुपैयाँसम्म पुगेको छ । जिउँदो खसीको मूल्य बढेकाले मासुको मूल्य पनि बढेको व्यवसायीहरू बताउँछन् ।

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लू सङ्क्रमण फैलिएपछि मासुको आपूर्ति शृङ्खला पनि बिग्रिएको हो ।
बजारमा जिउँदो खसीकै मूल्य प्रतिकिलो ९०० देखि १ हजार रुपैयाँसम्म पुगेकाले मासुको मूल्य बढेको शान्तिनगर स्थित प्रयास मिट शपका सरोज श्रेष्ठले बताएका छन् ।

‘जिउँदो खसी महँगो पर्ने र मासु तयार पार्दा खर्च धेरै लाग्ने हुन्छ ।’ उनले भने, ‘जसको कारण शुद्ध खसीको मासु १६/१७ सय रुपैयाँभन्दा कममा बेच्नै नसकिने अवस्था रहेको छ ।’

उनका अनुसार, कुखुरामा बर्डफ्लू संक्रमण फैलिएपछि अधिकांश उपभोक्ताहरु कुखुराको मासु खान छाडेका छन् । जसको कारण खसीको मासुको मूल्य उच्च वृद्धि भएको उनको भनाई छ ।

पछिल्लो समय जिउँदो खसीको मूल्य प्रतिकेजी २०० रुपैयाँसम्म बढेको कलंकी खसी बजारका व्यवसायी जीवन खतिवडाले बताए ।

‘पहिले ६५० देखि ६६० रुपैयाँ प्रतिकिलोमा पाइने जिउँदो असी अहिले ८०० रुपैयाँसम्म पुगेको छ ।’ उनले भने, ‘अहिले वर्षा याममा कम आयात हुने गर्छ, बर्डफ्लू संक्रमणको कारणले माग बढेको छ ।’

उपत्यकामा ५०० वटा खसीको माग गर्दा २०० वटा पनि मुस्किलले पाउन सकिने अवस्था रहेको उनले बताएका छन् । अहिले किसान खेतीबाली लगाउनमा व्यस्त हुने हुँदा धेरै ल्याउन नसकिने उनको भनाई छ ।

पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । गत चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।

हालसम्म बर्डफ्लु संक्रमण नियन्त्रण गर्न ५ लाख ६९ हजार ८५८ जिउँदो कुखुरा, ९ लाख ८९ हजार र १ लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।

त्यस्तै, चितवनमा ५७ हजार ६३ कुखुरा, २ लाख ९५ हजार अन्डा र १२ हजार किलो दाना नष्ट गरिएको विभागले जनाएको छ ।
झापामा २० हजार ९० कुखुरा, ९७ हजार अन्डा र १० हजार ४६५ किलो दाना, मोरङमा १ लाख एक हजार ८६० कुखुरा, ९८ हजार अन्डा र २३ हजार ८१० किलो दाना, सुनसरीमा २ लाख ८५ हजार कुखुरा, ४ लाख २७ हजार अन्डा र १ लाख २० हजार २२५ किलो दाना नष्ट गरिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

नवलपरासी पश्चिममा २०८ वटा कुखुरा र १०० किलो दाना, बारामा २ हजार ८६५ कुखुरा, ४ हजार अन्डा र ३ हजार १२५ किलो दाना, महोत्तरीमा ७८ वटा कुखुरा र काभ्रेमा ४५० कुखुरा नष्ट गरिएको विभागले जनाएको छ ।

हाल उपत्यकाका तीनवटै जिल्लामा संक्रमणदर कम हुँदै गएको छ तर काभ्रेपलाञ्चोकमा संक्रमण उच्च देखिएको पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले बताएका छन् ।

पहिले मुलुकमा मासु खपतको केही हिस्सा भारतबाट आयात हुने गरेको थियो । भारतबाट जिउँदो खसीबोका मात्रै ल्याइने गरेको थियो । विभागले आर्थिक वर्ष २०७७÷७८ मा कुनै पनि मुलुकबाट मासु आयातमा प्रतिबन्ध लगाएको छ ।

सरकारले पशुहरूमा पीपीआर नामक रोगको सङ्क्रमण देखिएपछि जिउँदा खसीबोका ल्याउन पनि रोक लगाएको थियो । २०७७/७८ अहिलेसम्म विभागको क्वारेन्टाइन महाशाखामार्फत कानुनी रूपमा खसीबोका अथवा मासु ल्याउन रोक लगाइएको महानिर्देशक दाहालले जानकारी दिए । त्यस्तै, अन्य मासुहरू र फ्रोजन आइटमहरू पनि नेपालमा आयात गर्न प्रतिबन्धित रहेको छ ।

बजारमा खसीको मासुको भाउ अधिक बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी थालेको छ । व्यापारीहरूले अभावको कृत्रिम बहाना बनाएको गुनासो आएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले मूल्य सीमा तोक्ने भएको हो ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार  ०७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।