काठमाडौँ । सुनचाँदीको कारोबारमा वर्षभर उतारचढाव आउँदै मूल्यका हिसाबले पनि नयाँ रेकर्ड कायम राख्दै आर्थिक वर्ष २०८२/८३ लाई बिदाई गरेको छ ।
आर्थिक वर्षको पहिलो दिन अर्थात् २०८२ साउन १ गते प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन २०८३ असार ३२ गतेसम्म आइपुग्दा २ लाख ८५ हजार रुपैयाँ मूल्य पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले राखेको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा सुनको भाउमा निक्कै उतारचढाव आएको देखिन्छ । सुनको मूल्य प्रत्येक दिन र महिनामा फरक पर्छ । तर, वार्षिक रुपमा तथ्यांक हेर्दा एक वर्षमा प्रत्येक महिना हजारौँ रुपैयाँ प्रतितोला बढेको देखिन्छ ।
सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि भाउले एकपछि अर्को कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिले नेपाली बजार पनि तातेको छ ।
आर्थिक वर्ष सुरु भएसँगै दैनिक बढ्दै गएको सुनको मूल्य वृद्धि भदौ महिनादेखि अत्याधिक बढ्न सुरु भएको थियो, जतिबेला सुनले पहिलो पटक ऐतिहासिक मूुल्य २ लाखको सीमा पार गरेको थियो । भदौ १३ गते पहिलो पटक सुनको मूल्य २ लाख माथि पुगेको हो । त्यसपछि विशेषगरी चाडपर्वको चटारो रहेको असोज महिनामा सुनले झन् ठूलो छलाङ मार्दै असोज ३० गते साढे २ लाख नाघेको थियो ।
यसरी सुनको मूल्यमा आएको बढोत्तरीले सुनको बजारमा सुनको माग र आपूर्तिमा ठूलो असन्तुलन समेत देखिएको थियो । वर्षकै सबैभन्दा डरलाग्दो रेकर्ड भने माघ महिनामा कायम भयो, जहाँ नेपाली सुन बजारको इतिहासमै पहिलो पटक सुन ३ लाखको सीमा नाघेको पुग्यो । माघ १३ गते ऐतिहासिक मूल्य पुगेको सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो ।
माघ महिनामा ऐतिहासिक मूल्यमा पुगेको सुनको मूल्यमा उच्च गिरावट पनि आएको थियो । ३ लाख ३९ हजार पुगेको सुनको भाउ तीन दिनमा नै ५२ हजारसम्मको गिरावट आएको थियो । त्यतिबेला अमेरिकी केन्द्रीय बैंकसम्बन्धी एक महत्वपूर्ण राजनीतिक–आर्थिक खबरपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा उल्लेखनीय उतारचढाव देखिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ (फेड) का वर्तमान अध्यक्ष जेरोम पावेलको स्थानमा पूर्व गभर्नर केभिन वार्सलाई नयाँ अध्यक्षका रूपमा नियुक्त गर्ने तयारीमा रहेको संकेत दिएका थिए । यो संकेतपछि बजारले अमेरिकाको मौद्रिक नीतिमा सम्भावित परिवर्तन हुने अनुमान गर्न थालेको सुनको मूल्यमा उच्च गिरावट आएको थियो ।
त्यसपछि उच्च मूल्यमा पुगेको सुनको मूल्य एकैदिन १५/२० हजारको उत्तरचढाव देखिदै आएको थियो । फागुनमा पनि सुनको मूल्य ३ लाख माथि नै कायम भएको थियो ।
यद्यपि, चैतमा भने मूल्य केही कमी आएको थियो । त्यससँगै सुनको भाउ चैत १० गते २ लाख ७२ हजारसम्म झरेको. थियो । त्यस्तै, बैशाख महिनामा सामान्य घटबढ हुँदै पुन ३ लाख हाराहारीमा कारोबार भएको सुन जेठ र असार महिनामा भने ३ लाखभन्दा कम मूल्यमा कारोबार भएको थियो ।
सामान्यतया युद्ध र अनिश्चितताको समयमा सुरक्षित लगानीका रूपमा हेरिने सुन गत फेब्रुअरी २८ देखि डोनाल्ड ट्रम्प नेतृत्वमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि भने सुनको मूल्य गिरावट आएको थियो । इरानका अधिकारी इब्राहिम जाबरीले हर्मुज जलडमरु बन्द गरिएको घोषणा गरेपछि तेलको मूल्य आकस्मिक रूपमा उकालो लागेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि सुनको मूल्यमा गिरावट आएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि एक वर्षमा तोलामा २ हजार ६० रुपैयाँले महँगिएको छ । २०८२ साउन १ गते प्रतितोला २ हजार २६५ रुपैयाँ रहेको चाँदी २०८३ असार ३२ गतेसम्म आइपुग्दा ४ हजार ३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि गत माघ १५ गते ऐतिहासिक मूल्य कायम भएको थियो । सो दिन चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्य समय युद्धको समयमा अत्याधिक बढ्ने सुनचाँदीको मूल्य मध्यपूर्व द्धन्द्धमा भने उल्लेख्य गिरावट आएको हो । सो समयमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि हुँदा लगानीकर्ताहरु सुन भन्दा पनि तेलमा लगानी गर्न थालेपछि सुनको मूल्यमा गिरावट आएको जानकारहरु बताउँछन् ।










प्रतिक्रिया