वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतिहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान द गोल इज ग्रीन कार्यान्वयनका लागि डब्लूडब्लूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ ।
यस अभियान अन्तर्गत फिफा वर्ल्र्डकप २०२६ का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो । विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।
द गोल इज ग्रीन अभियानले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने लक्ष्मी सनराइज बैंकको सोचलाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ । आकारका हिसाबले यो अभियान सीमित भए पनि वैज्ञानिक आधारमा योजना बनाई स्थानीय समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्दा निजी क्षेत्रको लगानीले वातावरणीय पुनःस्थापनामा प्रभावकारी योगदान दिन सक्ने उदाहरणका रूपमा यसलाई बैंकले लिएको छ ।
यस सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताको आधारमा डब्लूडब्लूएफ नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सिसिएफसँग जोडेको हो ।
काम्दी सिसिएफसँगले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ भने डब्लूडब्लूएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थिति अनुकूल पुनःस्थापना सम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ, जसले अभियानको दीर्घकालीन वातावरणीय प्रभाव सुनिश्चित गर्न सहयोग पुर्याउने विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया