काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट निर्यात हुने अलैँचीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार मुलुकले १२ अर्ब ६४ करोड ७८ लाख रुपैयाँ बराबरको ६३ लाख ९५ हजार किलोग्राम अलैँची निर्यात गरेको हो ।
गत वर्ष प्रशोधित भटमास तेलपछि अलैँची नेपालको दोस्रो ठूलो निर्यातजन्य वस्तु बनेको छ । यस वर्ष अलैँची निर्यातको परिमाण र यसबाट आर्जित रकम दुवैले नयाँ रेकर्ड कायम गर्ने संकेत गरेको छ ।
अलैँची मूल्य र परिणामका हिसाबले अहिलेसम्मकै उच्च रहेको अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताए । सिजनको सुरुवातदेखि नै एकै किसिमको मूल्यदर रहेकाले पनि यो वर्ष ९० प्रतिशत आम्दानी प्रत्यक्ष किसानको हातमा पुगेको उनले जानकारी दिए ।
‘सिनजको सुरुवाती चरणदेखि नै अलैँचीको मूल्य वृद्धि भयो, जसले गर्दा अलैंची किसानले राम्रो मूल्य पाए’ उनले भने, ‘किसान तथा निकासीकर्ताले राम्रो मूल्य पाएपछि उनीहरुले अलैँची स्टकमा राखेनन् ।’ गत वर्षहरुमा सुरुवाती चरणमा मूल्य नपाउँदा निकासीकर्ता तथा किसानले अलैंची बिक्री नगरी राख्ने गरेको उनले बताए ।
उनका अनुसार, नेपालमा अलैंची उत्पादन हुने प्रमुख जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर र धनकुटा हुन् । पछिल्लो समय बागमती र गण्डकी प्रदेशमा पनि यसको खेती विस्तार भएको छ । हाल कुल उत्पादनको करिब ९० प्रतिशत हिस्सा कोशी प्रदेशको नै रहेको छ ।
अलैंची पूर्वी पहाडी जिल्लाका कृषकको मुख्य आम्दानीको स्रोत हो । महासंघका अनुसार हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ । मुलुकमा उत्पादन भएको २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने व्यवसायीहरु बताउँछन् ।
हाल मुलुकमा उत्पादित अलैँची भारत, इटाली, जापान र रुस निर्यात भएको छ । तर, ९९ प्रतिशत अलैँची भारततर्फ निर्यात हुन्छ । नेपालबाट अन्य मुलुकमा अलैँची निर्यात गर्न धेरै समय लाग्ने हुँदा अन्य मुलुकमा निर्यात प्रवद्र्धन हुन नसकेको उनले बताए । तर, भारतबाट भने १५ दिनमै ती देशमा अलैँची पु¥याउन सकिन्छ । भारतमा प्रशोधन, ब्रान्डिङ र प्याकेजिङ गरी पाकिस्तान तथा पश्चिम एसियाका देशसहित अन्तर्राष्ट्रिय बजारमा भारतीय उत्पादनका रूपमा पुनः निर्यात गरिन्छ ।
अध्यक्ष नेपालका अनुसार, यसरी पुनः निर्यात गरिएको नेपाली अलैँची अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २८ अमेरिकी डलरसम्ममा बिक्री हुन्छ । नेपाली किसानले भने भारतीय खरिदकर्तालाई प्रतिकिलो दुई हजार रुपैयाँभन्दा कम अर्थात् करिब १४ अमेरिकी डलरमा बिक्री गर्न बाध्य रहेको उनले बताए ।
विश्वको कुल अलैँची उत्पादनमध्ये ५५ प्रतिशतभन्दा बढी उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक देश भए पनि नेपालले स्वदेशमै प्रशोधन र मूल्य अभिवृद्धि गर्न नसक्दा उच्च निर्यात आम्दानीबाट वञ्चित हुँदै आएको अध्यक्ष नेपालको भनाई छ ।
पछिल्लो समयमा अलैँचीको मूल्यमा आएको वृद्धिले किसानहरुमा उत्साह ल्याएको छ । स्थायी लाभका लागि गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय बजारमा ‘नेपाली ब्रान्ड’ विकास गर्न अब सरकारले ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको इलामका किसान महेश सापकोटाले बताएका छन् ।
यो वर्ष इलामबाट मात्रै २ अर्ब ५० करोड बढीको अलैँची निकासी भएको उनले जानकारी दिए । ‘जिल्लागत रूपमा फरक फरक तथ्यांक नभए पनि सबै जिल्लाको बिक्री केन्द्र झापाको बिर्तामोड नै हो ।’ उनले भने, ‘त्यहाँ पुगेको अलैँचीको तथ्यांक हेर्दा इलामले पनि राम्रो हिस्सा ओगटेको छ ।’
उनका अनुसार, अघिल्ला वर्षमा प्रतिमन ७० हजार रुपैयाँमा कारोबार हुने अलैँची गत वर्ष एक लाख छ हजार रुपैयाँसम्म कारोबार भयो । किसानले सोचेभन्दा पनि रम्रो मूल्य पाएको उनको भनाइ छ ।
अलैँचीबाट राम्रो प्रतिफल पाइरहेका किसान यतिबेला अलैँचीका बिरुवा लगाउन व्यस्त रहेको उनका भनाई छ । किसानले अलैँची विकास केन्द्रदेखि व्यावसायिक किसानका बगानबाट समेत बिरुवा खरिद गरेर अलैँची लगाइरहेको उनले बताए ।
जमिनको उचाइका आधारमा भार्लाङ, रामसाही, गोलसारी, चिबे, नयाँ जिर्मलेलगायतका जातका अलैँची लगाउने गरेका छन् ।
अलैँची निर्यातको पाँच वर्षे तथ्यांक
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १२ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको ६३ लाख ९५ हजार किलोग्राम अलैँची निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.७५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४३ लाख १ हजार किलो अलैँची ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँमा निर्यात गरेको थियो । पछिल्ला वर्षमा अलैँची निर्यात निरन्तर बढ्दो क्रममा छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बराबरको ५० लाख १७ हजार किलोग्राम अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात गरेर नेपालले ८ अर्ब २७ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९÷८० मा परिणामको हिसाबले बढी भएता पनि मूल्यको आधारमा कम थियो ।
आर्थिक वर्ष २०७८/७९ मा ५३ लाख ६७ हजार किलोग्राम अलैँचीबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष मुलुकमा १७ हजार रुपैयाँ बराबरको ४० किलोग्राम अलैँची आयात भएको छ । उक्त अलैँची चिन, भारत, कुवेत, ओमन, कतार र यूएईबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया