काठमाडौँ । पछिल्लो समय केन्द्रिय बैंकले प्रशोचन गर्ने तरलतामा स्थायी निक्षेप सुविधा (एसडीएफ) को हिस्सा उच्च देखिएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को १३ दिनमा मात्रै विभिन्न मौद्रिक उपकरणमार्फत १३ खर्ब ५२ अर्ब ५ करोड रुपैयाँ बराबरको तरलता व्यवस्थापन गरिएको छ ।
यसमध्ये एसडीएफ मार्फत मात्रै ९ खर्ब ३९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कुल प्रशोचित तरलताको करिब ७० प्रतिशत हुन आउँछ । बाँकी रकम निक्षेप संकलन उपकरण र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत प्रशोचन गरिएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार प्रशोचित कुल तरलताको दुईतिहाइ भन्दा बढी हिस्सा एसडीएफ मार्फत व्यवस्थापन भएको छ । यसले अतिरिक्त तरलता व्यवस्थापनमा बैंकहरूले एसडीएफलाई प्रमुख औजारका रूपमा प्रयोग गरिरहेको देखाउँछ ।
पछिल्ला केही महिनायता बैंकिङ प्रणालीमा अधिक तरलता कायमै छ । निक्षेप संकलन निरन्तर बढे पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूसँग ठूलो परिमाणमा लगानीयोग्य रकम निष्क्रिय बसिरहेको छ । यस्तो अवस्थामा बैंकहरूले अतिरिक्त रकम सुरक्षित प्रतिफल प्राप्त हुने गरी राष्ट्र बैंकको एसडीएफमा राख्न थालेका हुन् ।
बैंकरहरूका अनुसार एसडीएफप्रति आकर्षण बढ्नुको मुख्य कारण यसको सरल प्रक्रिया, तत्काल पहुँच र सुनिश्चित प्रतिफल हो । हाल राष्ट्र बैंकले एसडीएफमा वार्षिक २.७५ प्रतिशत ब्याज उपलब्ध गराइरहेको छ । निक्षेप संकलन उपकरण र राष्ट्र बैंक ऋणपत्र निश्चित अवधिका तथा राष्ट्र बैंकले तोकेको तालिका अनुसार सञ्चालन हुने भए पनि एसडीएफ भने बैंकहरूले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने स्थायी सुविधा हो । यहि व्यवस्थाको कारणले गर्दा पनि अतिरिक्त तरलता व्यवस्थापनमा यही उपकरण प्रमुख विकल्प बन्न पुगेको उनीहरूको भनाइ छ ।
हिमालयन बैंकका सूचना अधिकारी सुनील गोर्खालीका अनुसार अहिले बैंकहरूको प्राथमिकता जोखिम रहित रूपमा अतिरिक्त तरलताको व्यवस्थापन गर्नु हो । “बैंकमा पैसा धेरै भएपछि त्यसलाई प्रतिफल आउने सुरक्षित ठाउँमा राख्नुपर्छ । तर निजी क्षेत्रमा कर्जा विस्तार हुन नसकेको अवस्थामा नेपाल सरकारको ऋणपत्रभन्दा राष्ट्र बैंकका उपकरणमा प्रतिफल राम्रो देखिएकाले बैंकहरू एसडीएफतर्फ आकर्षित भएका हुन्,” उनले भने ।
उनका अनुसार बैंकहरूले कोष व्यवस्थापन गर्दा प्रतिफल मात्र होइन, तरलता आवश्यक पर्दा सहज रूपमा उपयोग गर्न सकिने विकल्पलाई पनि प्राथमिकता दिन्छन् । एसडीएफले यी दुवै सुविधा उपलब्ध गराउने भएकाले यसको प्रयोग बढेको हो ।
राष्ट्र बैंकको तथ्यांकले पनि यही कुराको संकेत गरेको छ । चालु आर्थिक वर्षको सुरुवाती १३ दिनमै एसडीएफमार्फत ८ पटकमा गरि २७२ कारोबार भएका छन् । यसले बैंकहरूले अतिरिक्त तरलता व्यवस्थापनका लागि एसडीएफलाई प्रमुख माध्यम बनाइरहेको संकेत गर्छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भने एसडीएफको प्रयोग बढ्नु अस्वाभाविक नभएको बताउँछन् । उनका अनुसार बैंकिङ प्रणालीमा आवश्यकता भन्दा बढी तरलता रहेमा त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले उपलब्ध सबै मौद्रिक उपकरण प्रयोग गर्छ । “तरलता व्यवस्थापनका लागि लाग्ने खर्चलाई सामान्य खर्चका रूपमा हेर्न मिल्दैन । बजारमा पैसा बढी हुँदा त्यसले मूल्यवृद्धि, ब्याजदर र समग्र मौद्रिक स्थायित्वमा असर पार्न सक्छ । त्यसैले आवश्यक पर्दा राष्ट्र बैंकले एसडीएफसहितका उपकरण सक्रिय रूपमा प्रयोग गर्छ,” उनले भने ।
बैंकरहरूका अनुसार अहिलेको मुख्य समस्या तरलताको अभाव होइन, लगानीको अभाव हो । ब्याजदर लगातार घटे पनि उद्योग–व्यवसायबाट नयाँ कर्जाको माग उल्लेख्य रूपमा बढ्न सकेको छैन । निजी क्षेत्रको लगानी गर्ने आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसक्दा बैंकहरू अतिरिक्त रकम राष्ट्र बैंकमै राख्नु प्रमुख विकल्पको रुपमा लिएका छन् ।
सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार उद्योग–व्यवसाय विस्तारको गति सुस्त रहँदा कर्जा माग पनि कमजोर बनेको छ । “निक्षेप बढिरहेको छ तर कर्जा त्यही अनुपातमा विस्तार हुन सकेको छैन । त्यसैले अतिरिक्त तरलताको सुरक्षित व्यवस्थापनका लागि बैंकहरूले राष्ट्र बैंकका उपकरण प्रयोग गरिरहेका छन्,” उनले भने ।
बैंकरहरूका अनुसार अर्थतन्त्रमा लगानी र कर्जाको मागमा उल्लेख्य सुधार नआएसम्म एसडीएफको प्रयोग उच्च रहने सम्भावना छ । यसले एकातिर बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको संकेत गरे पनि अर्कोतर्फ निजी क्षेत्रमा लगानी विस्तार अझै सुस्त रहेको वास्तविकता पनि उजागर गरेको उनीहरूको भनाई छ । अहिलेको अवस्थामा एसडीएफ राष्ट्र बैंकको तरलता व्यवस्थापनको प्रमुख औजार मात्र नभएर बैंकहरूको अतिरिक्त नगद व्यवस्थापनको पहिलो रोजाइ बनेको उनीहरू बताउँछन् ।










प्रतिक्रिया