विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती


जर्मनीको लाइपजिगरहाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन ।

मङ्गलबार राति विमानस्थल आसपास शङ्कास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका दुवै रनवे तत्काल बन्द गरिएका थिए । त्यसका कारण एउटा यात्रुवाहक विमानसहित केही उडानहरू वैकल्पिक विमानस्थलतर्फ मोडिएका थिए । दक्षिणी रनवे नजिक शङ्कास्पद वस्तु रहेको सूचनापछि विस्फोटक निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको थियो ।

क्षेत्रीय प्रहरी र सरकारी अभियोजन कार्यालयका अनुसार विमानस्थलका एक कर्मचारीले दक्षिणी रनवे नजिकै अज्ञात विस्फोटक उपकरण बोकेको ड्रोन फेला पारेका थिए । त्यसपछि सुरक्षा निकायले ड्रोन नियन्त्रणमा लिएर त्यसमा जडान गरिएको डेटोनेटर हटाई सुरक्षित रूपमा निष्क्रिय पारेको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

घटनास्थल पुग्न बिदा नै स्थगित गरेका गृहमन्त्री डोब्रिन्डले विमानस्थलमा विस्फोटक बोकेको ड्रोन भेटिनु विगतका घटनाभन्दा फरक प्रकृतिको सुरक्षा जोखिम भएको बताए। उनका अनुसार ड्रोनबाट उत्पन्न हुन सक्ने खतरा पहिलेदेखि नै चिनिएको भए पनि विस्फोटकसहित विमानस्थलभित्र प्रवेश गर्नु सुरक्षा चुनौतीको नयाँ स्वरूप हो ।

उनले घटनालाई ‘हाइब्रिड आक्रमणको परिदृश्य’ का रूपमा उल्लेख गरे । तर यसबारे थप विवरण सार्वजनिक नगरिएको र ड्रोनको उत्पत्ति, प्रयोग गरिएको विस्फोटकको प्रकृति तथा सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले स्पष्ट पारे ।

स्याक्सोनी राज्यका गृहमन्त्री आर्मिन सुस्टरले सुरक्षा निकायले सम्भावित दोस्रो ड्रोनका अवशेष वा भागहरू खोजी गरिरहेको जानकारी दिए।

यसैबीच, रनवे बन्द भएपछि अवतरण गर्न नसकेको एउटा मालवाहक विमान अर्को उड्ने वस्तुसँग ठोक्किएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उक्त विमानलाई करिब २०० किलोमिटर टाढाको हनोभर विमानस्थलमा अवतरण गराइएको थियो । त्यहाँ निरीक्षणका क्रममा सामान्य क्षति देखिएको अधिकारीहरूले बताएका छन् ।

लाइपजिग÷हाले विमानस्थलको उत्तरी रनवे करिब दुई घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो भने दक्षिणी रनवे पूर्वनिर्धारित मर्मत कार्यका कारण बुधबार पनि बन्द रहने तय गरिएको थियो । घटनाबाट यात्रु वा विमानस्थलका कर्मचारीको सुरक्षामा कुनै प्रत्यक्ष असर नपरेको तथा नियमित उडान सञ्चालनमा उल्लेखनीय अवरोध नआएको अधिकारीहरूले बताएका छन् ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा युक्रेनी एन्टोनोभ विमान नजिकै विस्फोटक निष्क्रिय पार्ने रोबोटसहित सुरक्षा प्राविधिक परिचालित भएको देखिएको छ । लाइपजिगरहाले विमानस्थल युरोपकै प्रमुख कार्गो केन्द्रमध्ये एक हो र यहाँ युक्रेनी एन्टोनोभका मालवाहक विमानहरूको नियमित आवागमन हुने गर्दछ ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले घटनाबारे आफूलाई जानकारी प्राप्त भएको जनाएको छ । सङ्गठनले थप विवरणका लागि जर्मन अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको छ ।

यसअघि सन् २०२४ मा पनि यही विमानस्थलको लजिस्टिक केन्द्रमा आगो लगाउने उपकरण प्रयोग गरिएको घटना भएको थियो । पश्चिमी सुरक्षा अधिकारीहरूले त्यस घटनालाई रूसी गुप्तचर निकायसँग जोडिएको सम्भावित तोडफोड अभियानको हिस्सा हुन सक्ने आशङ्का व्यक्त गरेका थिए । पश्चिमी मुलुकहरूले रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता युरोपभर यस्ता अनेकौँ तोडफोड, आक्रमण तथा सुरक्षा चुनौती सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।