अमेरिकामा रोजगारी संकट गहिरिँदै, ओहायोमा १४ हजार प्रभावित


ओहायो । अमेरिकाको ओहायो राज्यमा रहेको एक ट्रक कारखानाबाट करिब १४ हजार कामदारले रोजगारी गुमाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभा हुनुभन्दा केही दिनअघि भएको यो ठूलो कर्मचारी कटौतीले स्थानीय श्रमिक समुदायमा चिन्ता बढाएको छ।

दक्षिणपश्चिमी ओहायोस्थित पूर्व नाभिस्टार ट्रक कारखानामा बुधबार कर्मचारी कटौती गरिएको हो। यसबाट डेटन क्षेत्रको रोजगारीमा उल्लेखनीय असर परेको बताइएको छ।

रोजगारी गुमाउनेमध्ये ३० वर्षीय काइल बोस पनि छन्। उहाँका दुई छोरी छन् भने अर्को बच्चा जनवरीमा जन्मिने तयारीमा छ। बोसले परिवारको दैनिक खर्च व्यवस्थापन गर्न अहिले पहिलेभन्दा कठिन भइरहेको बताएका छन्। उनका अनुसार खाद्यान्नलगायत दैनिक आवश्यक वस्तुको मूल्य पनि बढेको छ।

बोसले यसअघि तीन पटक डोनाल्ड ट्रम्पलाई मतदान गरेका थिए। तर, पछिल्लो अवस्थाबाट आफू निराश भएको उनले बताएका छन्। देशमा राजनीतिक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ। आगामी नोभेम्बरमा हुने चुनावमा बोस डेमोक्र्याटिक पार्टीका लागि मतदातासँग सम्पर्क गर्ने अभियानमा सहभागी हुने तयारीमा छन्।

यसैबीच, ट्रम्पले शनिबार सोही क्षेत्रमा चुनावी सभा गर्दैछन्। आगामी चुनावमा श्रमिक वर्गको समर्थन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। कुनै समय उद्योग र रोजगारीका लागि प्रसिद्ध डेटन क्षेत्रमा अहिले रोजगारी घट्नु र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नुले स्थानीय परिवारमाथि आर्थिक दबाब बढाएको छ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।