आयात प्रतिस्थापनदेखि विश्व बजारसम्म पुगे चीनका उखु काट्ने मेसिन


चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर) ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तरराष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ ।

मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ चेनहान एग्रिकल्चरल इक्विपमेन्ट टेक्नोलोजी’ले उत्पादन गर्ने हार्भेस्टरले अहिले चीनको उखु काट्ने मेसिन बजारको करिब आधा हिस्सा ओगट्नुका साथै दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकासम्म निर्यात भइरहेको कम्पनीले जनाएको छ ।

उन्साठ्ठी वर्षीय संस्थापक झाङ चाङ्सियानले सन् २००८ मा स्वदेशी हार्भेस्टर विकास सुरु गरेका थिए । इन्जिनियरबाट उद्यमी बनेका उनले मेसिन बजारमा ल्याउन आठ वर्ष लाग्ने कल्पना गरेका थिएनन् । वर्षौंसम्म उनले आफ्नो टोलीसँग दक्षिण चीनको ग्वाङसी क्षेत्रका उखुबारीमा नमुना मेसिन परीक्षण गर्दै डिजाइन सुधार गरे । हिलोयुक्त खेत, आँधीका कारण ढलेका उखु र भिरालो जमिनले विकास प्रक्रियालाई निकै चुनौतीपूर्ण बनाएको थियो ।

चीनको चिनी उद्योगले उत्पादन लागत घटाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउन यान्त्रिकीकरणलाई प्राथमिकता दिइरहेका बेला कम्पनीको सफलता सम्भव भएको हो । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयअन्तर्गतको चिनियाँ कृषि दृष्टिकोण समितिका अनुसार, २०२४÷२५ बजार वर्षमा चीनले करिब एक करोड १२ लाख टन चिनी उत्पादन गर्दा एक करोड ५७ लाख टन खपत गरेको थियो । माग र उत्पादनबीचको अन्तर पूर्ति गर्न करिब ४६ लाख टन चिनी आयात गरिएको थियो ।

झाङका अनुसार बढ्दो श्रम लागतले पनि यान्त्रिक खेतीको आवश्यकता बढाएको छ । सन् २००८ मा एक कामदारले २५–३० युआनमा दिनभरि करिब एक टन उखु काट्थे भने अहिले त्यही कामको लागत १८० देखि २५० युआन पुगेको छ । कम्पनीका हार्भेस्टरले भने एक दिनमै १०० टनभन्दा बढी उखु काट्न सक्छ, जुन करिब १०० जना कामदारको श्रम बराबर हो ।

सुरुआती चरणमा चीनमा प्रयोग हुने अधिकांश हार्भेस्टर आयातित थिए । तर ब्राजिल वा अष्ट्रेलियाका विशाल समथर खेतका लागि बनेका ती मेसिन चीनका साना तथा भिरालो खेतका लागि उपयुक्त थिएनन् । त्यसैले कम्पनीले चिनियाँ खेतको अवस्था सुहाउँदो ‘टुक्रा पारेर काट्ने’ प्रणाली विकास ग¥यो । आर्थिक कठिनाइका बीच झाङले छोरीको शिक्षाका लागि छुट्याएको रकमसमेत परियोजनामा लगानी गरेका थिए ।

कम्पनीले सन् २०१५ मा पहिलो हार्भेस्टर तयार गरी २०१६ मा बजारमा ल्यायो । पहिलो वर्ष ३० भन्दा बढी मेसिन बिक्री भएकोमा अर्को वर्ष यो सङ्ख्या १५० नाघ्यो । सन् २०१९ देखि कम्पनीले भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, कोस्टारिका र भेनेजुएलालगायत देशमा निर्यात सुरु गरेको छ । अहिले कम्पनीको कुल आम्दानीको करिब एक–पाँचौँ हिस्सा निर्यातबाट आउने गरेको छ ।

ग्राहकको आवश्यकता अनुसार मेसिन परिमार्जन गर्ने क्षमताले पनि कम्पनीलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाएको छ । कम्पनीले भविष्यमा स्मार्ट नियन्त्रण प्रणाली, हाइब्रिड ऊर्जा प्रविधि र कम इन्धन खपत हुने हार्भेस्टर विकासमा अनुसन्धान जारी राखेको जनाएको छ ।

“धेरैले चिनियाँ कम्पनीले उखु काट्ने मेसिन बनाउन सक्दैनन् भनेका थिए”, झाङले भने, “तर आज हामीले त्यस्ता मेसिन उत्पादन मात्र होइन, विश्व बजारमा निर्यात पनि गरिरहेका छौँ ।”

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।