काठमाडौँ । मुलुकको विदेशी मुद्रा सञ्चिति उच्च विन्दुमा पुगे पनि बैंकिङ प्रणाली बाहिर हुने हुन्डी, क्रिप्टोकरेन्सी कारोबार र अन्य शंकास्पद वित्तीय गतिविधि नियन्त्रण हुन सकेका छैनन् । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइका अनुसार एक वर्षमा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन करिब ३० प्रतिशतले बढेको छ ।
वित्तीय जानकारी एकाइको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन संख्या ७ हजार ३३८ बाट बढेर ९ हजार ५६५ पुगेको छ । तीमध्ये भर्चुअल मुद्रासँग सम्बन्धित ६१३ वटा र हुन्डीसँग सम्बन्धित १६७ वटा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन प्राप्त भएका छन् ।
मुलुकको बाह्य अर्थतन्त्र सबल भएको अवस्थामा यस्तो कारोबारमा वृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ जेठसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २४ अर्ब ६८ करोड पुगेको छ, जुन करिब १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हो ।
यस अवधिमा विप्रेषण आप्रवाह पनि उल्लेख्य रूपमा बढेको छ । जेठ महिनामा मात्रै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३८.२ प्रतिशतले वृद्धि भएर २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । चालु खाता ८ खर्ब २ अर्ब ६ करोड र शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ ।
सामान्य अवस्थामा विदेशी मुद्रा अभाव हुँदा हुन्डी कारोबार बढ्ने अनुमान गरिन्छ । तर अहिले बैंकिङ प्रणालीमा विदेशी मुद्रा अभाव नरहेकाले हुन्डी बढ्नुको कारण केवल डलर अभाव मात्र नभएको विज्ञहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापाका अनुसार हुन्डी विदेशी मुद्रा अभावको परिणाम मात्र होइन । बैंकिङ प्रणाली छल्दै भुक्तानी गर्ने, विदेशमा रकम मिलाउने र वित्तीय अपराधसँग जोडिएका गतिविधिले पनि हुन्डीलाई निरन्तरता दिन सक्ने उनको भनाइ छ । “विदेशी मुद्रा सञ्चिति बढ्नु र हुन्डी नियन्त्रण हुनु फरक विषय हुन्,” थापाले भने ।
उनका अनुसार व्यक्तिले पैसा पठाउँदा सुविधा, समय र प्राप्त हुने रकमलाई पनि प्राथमिकता दिने भएकाले औपचारिक प्रणालीभन्दा बाहिर जाने प्रवृत्ति देखिन सक्छ ।
विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गर्दै हुन्डी सञ्चालकहरूले बैंक तथा रेमिट्यान्स कम्पनीभन्दा केही बढी रकम दिने, छिटो पैसा उपलब्ध गराउने र प्रक्रिया सजिलो हुने जस्ता प्रलोभन देखाउने गरेको उनी बताउँछन् । तत्काल रकम पठाउनुपर्ने अवस्थामा यस्ता सुविधा आकर्षक बन्ने गरेका छन् ।
तर हुन्डीमार्फत हुने कारोबारले देशको औपचारिक वित्तीय प्रणालीलाई असर पार्न सक्छ । बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत रकम आउँदा विदेशबाट आएको विदेशी मुद्रा औपचारिक प्रणालीमा प्रवेश गर्छ र सञ्चिति बढाउन सहयोग गर्छ । तर हुन्डीमार्फत रकम पठाउँदा विदेशबाट आएको वास्तविक विदेशी मुद्रा नेपालको बैंकिङ प्रणालीमा नआउन सक्छ ।
हुन्डीको वास्तविक आकार अझै अज्ञात
हुन्डी कारोबार बैंकिङ प्रणालीबाहिर हुने भएकाले यसको वास्तविक आकार पत्ता लगाउन कठिन रहेको राष्ट्र बैंकले जनाएको छ । औपचारिक तथ्यांकमा नदेखिने भएकाले यस्तो कारोबार कति रकम बराबरको छ भन्ने यकिन गर्न चुनौती रहेको अधिकारीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार हुन्डीलाई एकैपटक पूर्ण रूपमा नियन्त्रण गर्न कठिन हुन्छ । त्यसका लागि नियामक निकाय, वित्तीय संस्था र सर्वसाधारणबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
उनका अनुसार औपचारिक माध्यमबाट रकम पठाउने प्रणालीलाई थप सहज बनाउनु र सर्वसाधारणमा वित्तीय सचेतना बढाउनु आवश्यक छ ।
क्रिप्टोकरेन्सीको कारोबार पनि बढ्दो
पछिल्ला वर्षहरूमा भर्चुअल मुद्रा पनि अनौपचारिक कारोबारको माध्यमका रूपमा देखिन थालेको छ । वित्तीय जानकारी एकाइका अनुसार विदेशमा रहेको रकमलाई भर्चुअल मुद्रामा परिवर्तन गर्ने, विभिन्न देशबीच रकम मिलान गर्ने र अन्तिममा नेपालमा नेपाली रुपैयाँ उपलब्ध गराउने प्रवृत्ति देखिएको छ ।
नेपालमा क्रिप्टोकरेन्सी कारोबार कानुनी रूपमा मान्यता प्राप्त छैन । यस्ता कारोबारमा रकमको स्रोत र प्रयोग पत्ता लगाउन कठिन हुने भएकाले वित्तीय अपराधको जोखिम बढ्ने अधिकारीहरू बताउँछन् ।
व्यापारमार्फत पनि रकम लुकाउने जोखिम
हुन्डी कारोबार विदेशबाट पैसा पठाउने माध्यममा मात्र सीमित नभएको जानकारहरूको भनाई छ । व्यापारका माध्यमबाट पनि रकम लुकाउने वा अनौपचारिक रूपमा व्यवस्थापन गर्ने जोखिम रहेको विज्ञहरू बताउँछन् ।
कतिपय अवस्थामा व्यापारीले विदेशबाट सामान आयात गर्दा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने र बाँकी रकम अन्य माध्यमबाट भुक्तानी गर्ने जोखिम हुन्छ । यसलाई व्यापारमार्फत हुने सम्पत्ति शुद्धीकरणका रूपमा हेरिन्छ । वित्तीय जानकारी एकाइका अनुसार व्यापारमार्फत हुने सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद प्रतिवेदन एक वर्षमा २२ बाट बढेर ४३ पुगेका छन् । यसले भन्सार राजस्व, कर प्रणाली र वित्तीय निगरानीमा चुनौती थपेको छ ।
निगरानीको दायरा विस्तार गर्नुपर्ने
शंकास्पद कारोबार बैंकिङ क्षेत्रमा मात्र सीमित देखिदैन । वित्तीय जानकारी एकाइका अनुसार वाणिज्य बैंकबाट सबैभन्दा धेरै ७ हजार ३०३ वटा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन प्राप्त भएका छन् । त्यसबाहेक विकास बैंक, वित्त कम्पनी, धितोपत्र कम्पनी, बीमा कम्पनी, डिजिटल भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी तथा सहकारीबाट पनि यस्ता प्रतिवेदन आउने गरेका छन् ।
यसले वित्तीय अपराधको स्वरूप परम्परागत बैंकिङ प्रणालीबाट डिजिटल कारोबार र अन्य वित्तीय सेवातर्फ विस्तार भइरहेको देखाउँछ । विदेशी मुद्रा सञ्चिति बलियो भए पनि अनौपचारिक वित्तीय कारोबार नियन्त्रणका लागि नियमन, प्रविधि र जनचेतनामा समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको केन्द्रिय बैंकका प्रवक्ताको भनाई छ ।
विदेशी मुद्रा बढ्नु र घट्नुसँग हुन्न्डीको सम्बन्ध के ?
हुन्डी कारोबार केवल विदेशबाट नेपालमा पैसा पठाउने विषयमा मात्र सीमित हुँदैन । कतिपय अवस्थामा व्यापारिक कारोबारमा समेत अनौपचारिक माध्यम प्रयोग हुने जोखिम रहन्छ । उदाहरणका लागि, कुनै व्यापारीले विदेशबाट सामान आयात गर्दा बैंक वा औपचारिक माध्यमबाट भुक्तानी नगरी विदेशमै रहेका नेपाली कामदारसँग आफ्ना साझेदार, एजेन्ट वा अन्य माध्यममार्फत रकम मिलान गर्ने गर्छ ।
त्यसपछि नेपालमा रहेको कामदारको परिवार वा सम्बन्धित व्यक्तिलाई भने हुन्डी सञ्जालमार्फत नेपाली रुपैयाँ उपलब्ध गराइन्छ, जसले गर्दा विदेशबाट आउनुपर्ने वास्तविक विदेशी मुद्रा औपचारिक बैंकिङ प्रणालीमा नआउने अवस्था सिर्जना हुन्छ । सामान्य अवस्थामा वैदेशिक व्यापार गर्नको लागि बैंकिङ्ग प्रणालीबाट विदेशी मुद्रा लिने गरिन्छ । जसको आधिकारीक विवरण राष्ट्र बैंकसँग हुन्छ र व्यापारीले भन्सार विन्दुमा मूल्यमा हेरफेर गर्न सक्दैन । तर विदेशमै रहेको विदेशी मुद्राबाट कारोबार गर्दा मूल्य हेरफेर हुन सक्छ ।
यस्तो अवस्थामा नेपालमा रकम प्राप्त भए पनि त्यससँग सम्बन्धित वास्तविक विदेशी मुद्रा औपचारिक बैंकिङ प्रणालीमार्फत नेपाल भित्रिँदैन । विदेशमा रहेको नेपाली मुद्रा वा विदेशी मुद्रा त्यहीँ अर्को कारोबारमा प्रयोग हुन सक्छ, जबकि नेपालमा परिवार वा सम्बन्धित व्यक्तिले स्थानीय मुद्रामा रकम प्राप्त गर्छन् ।
यसले देशमा भित्रिनुपर्ने विदेशी मुद्रा औपचारिक प्रणालीमा नआउने अवस्था सिर्जना गर्न सक्छ । परिणामस्वरूप विदेशी मुद्रा सञ्चिति, भुक्तानी प्रणाली र वित्तीय निगरानीमा चुनौती थपिन सक्छ ।










प्रतिक्रिया