इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ६३ लाख ९६ हजार १४४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले अघिल्लो आवभन्दा गत आवमा ८१ लाख ९२ हजार ६२७ रुपैयाँ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो ।
कार्यालयले अघिल्लो आव ०८१/८२ मा १३ करोड ८२ लाख ३ हजार ५१७ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार ६७८ रुपैयाँ मात्र राजस्व उठाएको थियो ।
कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट १० करोड ९३ लाख ९१ हजार १८४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरब २ करोड ८ लाख ६४ हजार ४५० रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट १ करोड २० लाख ६८ हजार ७९० रुपैयाँ सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए ।
त्यस्तै, आयकरबाट ४० लाख ४ हजार ३२०रुपैयाँ , प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३१ हजार ३०० रुपैयाँ, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट ९ हजार १०० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट ९५ लाख दुई हजार ९०० रुपैयाँ उठाएको थियो । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।











प्रतिक्रिया