बैंकिङ क्षेत्रमा सुधारको संकेत, तर खराब कर्जाको चुनौती कायमै


काठमाडौँ । पछिल्लो समय बैंकिङ क्षेत्रमा सुधारको संकेत देखिन थालेका छन् । कर्जाको माग बढ्न थालेको, जलविद्युत् तथा पर्यटनलगायत क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुने सम्भावना बढेकाले बैंकहरूको कर्जा परिचालनमा सुधार आउँदा समग्र बैंकिङ क्षेत्रमा सुधार देखिएको हो ।

तर विगतमा प्रवाह भएको कर्जा असुलीमा समस्या देखिँदा निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ । यसले बैंकिङ क्षेत्रमाथिको जोखिम भने कायमै रहेको देखिन्छ ।

आइक्रा नेपालले सार्वजनिक गरेको ‘नेपाली बैंकिङ क्षेत्र : कार्यसम्पादन अद्यावधिक र दृष्टिकोण’ प्रतिवेदनले बैंकिङ क्षेत्रको अवस्था मिश्रित रहेको देखाएको छ । एकातर्फ कर्जा विस्तारमा सुधार देखिएको छ भने अर्कोतर्फ सम्पत्तिको गुणस्तर, कर्जा असुली र पुँजी पर्याप्ततामा दबाब देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आइक्रा नेपालको विश्लेषण अनुसार सन् २०२४/२५ तथा सन् २०२५/२६ को पहिलो नौ महिनामा बैंकिङ क्षेत्रको कर्जा विस्तार करिब ८ प्रतिशत पुगेको छ । तर यही अवधिमा निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेको छ । आव २०२२/२३ को चौथो त्रैमासमा ३.०२ प्रतिशत रहेको एनपीएल अनुपात आव २०२५/२६ को तेस्रो त्रैमाससम्म आइपुग्दा ५.६० प्रतिशत पुगेको छ ।

यसले बैंकिङ क्षेत्रको चुनौती नयाँ कर्जा प्रवाहमा मात्र नभई प्रवाह भइसकेको कर्जा सुरक्षित रूपमा असुल गर्नमा पनि रहेको देखाउँछ ।

पछिल्लो समय ब्याजदर घट्दै जानु, लगानीको वातावरणमा क्रमिक सुधार आउनु तथा जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रमा गतिविधि बढ्ने अपेक्षाले कर्जाको मागमा सुधार आएको आइक्रा नेपालको प्रतिवेदनले जनाएको छ ।

एनपीएल बढ्नुको कारण के ?

पछिल्ला वर्षमा अर्थतन्त्रमा आएको सुस्तीलाई खराब कर्जा बढ्नुको प्रमुख कारणका रूपमा रहेको व्यवसायी तथा जानकारहरू बताउँछन् ।

उद्योग, व्यापार तथा सेवा क्षेत्रमा कारोबार कमजोर हुँदा धेरै व्यवसायीले अपेक्षित आम्दानी गर्न नसकेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य बताउँछन् । पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रको लगानी अपेक्षाअनुसार बढ्न नसक्दा आर्थिक गतिविधि कमजोर भएको र त्यसको असर व्यवसायीको नगद प्रवाहमा परेको उनको भनाइ छ । आम्दानी घटेपछि बैंक ऋणको किस्ता र ब्याज समयमै तिर्न व्यवसायीलाई कठिन भएको उनले बताए ।

निर्माण क्षेत्रमा आएको मन्दीले पनि कर्जा असुलीमा असर पारेको छ । नयाँ निर्माण आयोजना कम हुनु तथा सरकारी आयोजनाको भुक्तानी ढिलो हुँदा निर्माण व्यवसायीको नगद प्रवाह कमजोर बनेको छ । यसको असर सिमेन्ट, डन्डी, ढुवानी, हार्डवेयरलगायत निर्माणसँग सम्बन्धित व्यवसायमा समेत परेको सरोकारवालाहरूको भनाई छ ।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहका अनुसार पुँजीगत खर्च बढ्न नसक्दा बजारमा पुँजी परिचालन कमजोर भएको छ । त्यसको असर निर्माण व्यवसायी हुँदै बैंकको कर्जा भुक्तानीमा समेत परेको उनको भनाइ छ ।

बजारमा उपभोग घट्दा थोक तथा खुद्रा व्यापारको कारोबारमा समेत असर परेको जानकारहरू बताउँछन् । बिक्री घटेपछि व्यवसायीको आम्दानी कमजोर भएको र कतिपय व्यवसायीलाई दैनिक सञ्चालन खर्च धान्नसमेत कठिन भएको उनीहरूको भनाइ छ । यस्तो अवस्थामा बैंकबाट लिएको ऋणको किस्ता नियमित रूपमा भुक्तानी गर्न समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

कृषि क्षेत्रमा पनि उत्पादन लागत बढ्नु, मल, बीउ तथा अन्य कृषि सामग्रीको मूल्य वृद्धि हुनु, प्राकृतिक विपद्का कारण उत्पादनमा क्षति पुग्नु र उत्पादनले उचित मूल्य नपाउनुजस्ता कारणले किसानको आम्दानी प्रभावित भएको छ । त्यसको असर कृषि क्षेत्रमा प्रवाह भएको कर्जामा समेत परेको बताइन्छ ।

राष्ट्र बैंकका अनुसार क्षेत्रगत रूपमा माछापालन क्षेत्रमा सबैभन्दा बढी करिब ९.९७ प्रतिशत खराब कर्जा रहेको छ । त्यसपछि थोक तथा खुद्रा व्यापार, निर्माण, कृषि तथा यातायात तथा सञ्चार क्षेत्र उच्च जोखिममा रहेका छन् ।

खराब कर्जा बढ्नुमा पछिल्ला वर्षको आर्थिक सुस्तता मात्रै कारण नभएको अर्थविद्हरू बताउँछन् । केही वर्षअघि बैंकको ब्याजदर उच्च हुँदा व्यवसायीको वित्तीय भार बढेको थियो । त्यसबेलाको असर अझै पूर्ण रूपमा हट्न नसकेको वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् ।

कोभिड–१९ महामारीका क्रममा पुनःतालिकीकरण तथा पुनर्संरचना गरिएका कतिपय ऋण अहिले नियमित हुन नसक्दा खराब कर्जामा परिणत भएको उनको भनाइ छ ।

त्यस्तै, ऋण लिएको उद्देश्यअनुसार प्रयोग नगर्नु, व्यवसायको सम्भाव्यता पर्याप्त अध्ययन नगरी कर्जा प्रवाह गर्नु तथा एउटै व्यक्ति वा समूहले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अत्यधिक ऋण लिनुले पनि समस्या बढाएको अधिकारी बताउँछन् । यसले अहिलेको खराब कर्जा समस्या तत्कालीन आर्थिक सुस्तता र विगतमा जम्मा भएको कर्जा जोखिम दुवैसँग जोडिएको देखाउँछ ।

धितो बिक्रीमा पनि असर

बैंकिङ क्षेत्रको कर्जाको ठुलो हिस्सा धितो क्षेत्रमा आधारित छ । ऋणीले कर्जा तिर्न नसके बैंकले धितो बिक्री गरेर रकम असुल गर्न सक्छ । तर घरजग्गा बजारमा खरिदकर्ता कम हुँदा धितो बिक्री गरेर कर्जा असुल गर्न पनि बैंकलाई कठिन भएको आइक्रा नेपालको प्रतिवेदनले जनाएको छ । कर्जा असुल हुन नसकेर बैंकको स्वामित्वमा आएको सम्पत्तिलाई नन–बैंकिङ सम्पत्ति (एनबीए) भनिन्छ । प्रतिवेदनअनुसार बैंकहरूको एनबीए ०.५ प्रतिशतबाट बढेर ०.९ प्रतिशत पुगेको छ ।

धितो बिक्री हुन नसक्दा बैंकको स्रोत लामो समयसम्म त्यही सम्पत्तिमा अड्किन सक्छ । यसले कर्जा असुली प्रक्रिया लम्ब्याउनुका साथै बैंकको स्रोत परिचालनमा समेत असर पार्न सक्ने प्रतिवेदनको भनाई छ ।

यता, नेपाल राष्ट्र बैंकले खराब कर्जा नियन्त्रणका लागि जोखिम व्यवस्थापन, कर्जा वर्गीकरण, कर्जा सूचना प्रणालीको प्रभावकारी प्रयोग, ऋण पुनर्संरचना तथा बैंकहरूको सुशासन सुधारलगायतका व्यवस्था लागू गर्दै आएको जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्दा ऋणीको वास्तविक भुक्तानी क्षमता मूल्याङ्कन गर्न र कर्जाको नियमित अनुगमन गर्न पनि निर्देशन दिइएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

तर बजारमा पुँजी परिचालन हुन नसक्नु र आर्थिक गतिविधि चलायमान हुन नसक्दा खराब कर्जा नियन्त्रणमा चुनौती रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन् ।

विज्ञहरूका अनुसार नियामकीय व्यवस्था र बैंकको आन्तरिक सुधारले मात्रै खराब कर्जाको समस्या समाधान हुँदैन । त्यसका लागि अर्थतन्त्र चलायमान हुनु आवश्यक छ । उद्योग, व्यापार तथा निर्माण क्षेत्रमा लगानी बढ्नु, सरकारी विकास खर्च समयमै हुनु, निजी क्षेत्रको मनोबल सुधारिनु तथा रोजगारीका अवसर विस्तार हुनु आवश्यक रहेको उनीहरूको भनाइ छ । आर्थिक गतिविधि बढेपछि व्यवसायीको आम्दानी र नगद प्रवाहमा सुधार आउन सक्छ । त्यसले बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानीमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञहरूको बुझाइ छ ।

खराब कर्जा बढ्दै जानु बैंकिङ क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रकै चिन्ताको विषय विज्ञहरूको भनाई छ । बैंकहरूले खराब कर्जा बढेको अवस्थामा नयाँ कर्जा प्रवाहमा थप सावधानी अपनाउन सक्छन् । त्यसले उद्योग, व्यापार तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तारमा असर पार्न सक्ने उनीहरूको भनाई छ ।

त्यसैले बैंकिङ क्षेत्रको सुधारलाई कर्जा विस्तार र ब्याजदर घटेको तथ्यांकबाट मात्र हेर्न पर्याप्त सरोकारवालाहरूको मत छ । ऋणीको आम्दानी र नगद प्रवाहमा सुधार, कर्जा असुलीको अवस्था, खराब कर्जामा आएको परिवर्तन र बैंकको पुँजी क्षमताले पनि सुधारको वास्तविक अवस्था देखाउने उनीहरू बताउँछन् । आगामी दिनमा बैंकहरूका लागि चुनौती नयाँ कर्जा विस्तार गर्नु मात्र नभई पुरानो कर्जा सुरक्षित रूपमा उठाउनु, खराब कर्जा नियन्त्रण गर्नु र पर्याप्त पुँजी कायम राख्नु पनि देखिएको उनीहरूको भनाई छ ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।