साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार सोमबार घोषणा हुँदै


काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार भदौ १ घोषणा हुँदैछ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्ने कार्यक्रम छ ।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुने बताइएको छ । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्या भारी मात्रामा बढेको छ ।

साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता भएका छन् । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो ।
यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । यिनैमध्येबाट सोमबार १७ जना विजेता छनोट गरिनेछ । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्म १६ दिनको एक जना गरेर १६ जनाले एक एक लाख रुपैयाँ जित्नेछन् । उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन् । यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ ।

सोमबारको कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १४ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।