हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य


हुम्ला । हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् । किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न बाध्य भएका हुन् ।

सोही कारणले गत असार २९ गते जिल्ला दररेट निर्धारण समिति, हुम्लाले स्याउको मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिले क्रमशः ‘ए’ ग्रेडको प्रति केजी ६० रुपैयाँ ‘बि’ ग्रेडको प्रति केजी ५० रुपैयाँ र ‘सि’ ग्रेडको प्रति केजी ४० रुपैयाँ निर्धारण गरेको थियो ।

हुम्लाको तल्लो क्षेत्र अदानचुली र ताँजाकोटका किसान सालाखाला स्याउ प्रति केजी ३० रुपैयाँदेखि ४० रुपैयाँमा बिक्री गर्न बाध्य भएका छन् । अदानचुली गाउँपालिका–५ का किसान वीरवलसिंहले बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्नुपरेको जानकारी दिए ।

“पछिल्लो समय गाउँमा स्याउ खरिद गर्न व्यापारी आउन थालेका छन् । यता स्याउ पाकेको छैन । स्याउ भण्डारण गर्ने भौतिक संरचना छैन । नजिकै बजार र आफूसँग सवारीसाधन नभएकाले स्याउ बिक्री गर्न बाध्य छौँ”, उनले भने ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार  १८ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।