बिमा पोलिसीलाई ‘एफडी’ र ‘डबल मनी’ भन्दै प्रचार गर्न नपाइने


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले बिमा पोलिसी बिक्री गर्दा ‘फिक्स्ड डिपोजिट (एफडी)’, ‘ब्याज आउने योजना’, ‘डबल मनी’ वा ‘निश्चित प्रतिफल’ जस्ता भ्रामक शब्द प्रयोग नगर्न जीवन तथा लघु जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ।

प्राधिकरणले बिमा भनेको निक्षेप वा लगानी योजना नभई आर्थिक जोखिमबाट सुरक्षा दिने वित्तीय सेवा भएकाले यसको वास्तविक प्रकृति लुकाएर ग्राहकलाई आकर्षित गर्न नपाइने स्पष्ट पारेको छ।

अब बिमा कम्पनी वा अभिकर्ताले बिमालेखमा उल्लेख नभएको निश्चित बोनस, प्रतिफल वा रकम पाइन्छ भनेर ग्राहकलाई आश्वासन दिन पाउने छैनन्। बिमा योजना बिक्री गर्दा ग्राहकलाई योजना, लाभ, जोखिम र सर्तबारे सही र स्पष्ट जानकारी दिनुपर्नेछ।

प्राधिकरणले अभिकर्तालाई आफूखुसी सामाजिक सञ्जालमा बिमा योजनाको प्रचार गर्न पनि रोक लगाएको छ। कम्पनीबाट स्वीकृत भएको प्रचार सामग्री मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, ग्राहकको आर्थिक अवस्था, उमेर, आम्दानी र बिमाको उद्देश्य हेरेर उपयुक्त बिमा योजना सिफारिस गर्नुपर्नेछ। गलत सूचना दिएर वा बिमालाई बचत तथा लगानी योजनाजस्तो देखाएर पोलिसी बिक्री गरेको पाइएमा सम्बन्धित बिमा कम्पनी र अभिकर्तामाथि बिमा ऐन, २०७९ अनुसार कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ।

पछिल्लो समय केही अभिकर्ताले बिमा पोलिसीलाई एफडी, बचत योजना वा ‘डबल मनी’ योजनासँग तुलना गर्दै बिक्री गर्ने गरेको गुनासो आएपछि प्राधिकरणले यस्तो अभ्यास रोक्न कडाइ गरेको हो।

प्राधिकरणले भ्रामक बिक्रीसम्बन्धी गुनासोको छुट्टै अभिलेख राख्न र त्यस्ता गुनासोमाथि गरिएको कारबाहीको विवरण हरेक तीन महिनामा प्राधिकरणमा बुझाउनसमेत बिमा कम्पनीलाई निर्देशन दिएको छ।

साथै, बिमा अभिकर्ताले आफू आबद्ध भएको कम्पनीको मात्रै बिमा व्यवसाय गर्नुपर्ने र अन्य कम्पनीबारे गलत वा भ्रामक सूचना फैलाउन नपाइने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।