गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रकम जोहो भए एक वर्षभित्रै सम्पन्न हुने, ४६ करोड खर्च

0
Shares

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णमा लाग्ने रकम जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा तयार हुने भएको छ ।
क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न हुने बताएका हुन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार सिंहदरबारस्थित उनकै कक्षमा भएको भेटमा ‘धुर्मुस’ ले रंगशाला निर्माणमा हालसम्म ४६ करोड भन्दा बढी खर्च भएको बताए । उनले अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड रुपैयाँ मात्र संकलन भएकाले १३ करोड ऋण रहेको बताएका हुन् ।

उनले भने ‘हाम्रो कुनै स्वार्थ छैन्, विशुद्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन् ।’

उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनको प्रशंसा गरे । उनले भने ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ ।’
उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताए ।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मस निकै भावुक बनेका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैँले बोलाएर चासो लिनुभएकोमा उपप्रधानमन्त्रीलाई धन्यवाद दिए । कट्टेलले भने ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं ।’

उपप्रधानमन्त्री पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिँदै रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्न रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई बिहीबार सिंहदरबारस्थित आफ्नै कक्षमा बोलाएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।