दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा बन्यो यस्तो नयाँ रेकर्ड

0
Shares

विहीबारको शेयर बजारमा करिब दोहोरो अंकको गिरावट आएपनि बजारले एउटा नयाँ रेकर्ड भने कायम गरेको छ ।

२०७६ साउन २३ गते बिहीबार नेपालको पुँजी बजारको इतिहासमै नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । नेप्सेका अनुसार यसदिन अनलाइन मार्फत २९ हजार ४ सय ९६ पटक शेयर किनबेच भएको छ ।

गत कात्तिक २० गते अनलाइन कारोबार प्रणालीको सुरुवात भएको थियो । अनलाइन सुरु भएको नौ महिनाको अवधिमा एकैदिन यति धेरै संख्यामा शेयर किनबेच भएको पहिलो पटक हो । हालसम्म झण्डै १३ हजार लगानीकर्ता अनलाइन प्रणालीमा आवद्ध भएका छन् ।

विहीबार १८ लाख ७७ हजार ५४२ कित्ता शेयर २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्से सूचक ९.९२ अंकले घटेर १२३८.५६ अंकमा झरेको छ ।

बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै १२ हजार ५०९ पटक र त्यसपछि सान्जेन जलविद्युत कम्पनीको ११ हजार ९९१ पटक अनलाइन मार्फत कारोबार भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नोट बजारलाई जानकारी दिए ।

ठूलो संख्यामा शेयर निष्कासन गरेका रसुवागढी र सान्जेनको शेयर यसै साता नेप्सेमा सूचिकृत भएर कारोबारमा आएको हो ।

प्रकाशित मिति: २३ साउन २०७६, बिहीबार  २० : ११ बजे