काठमाडौँ । नेपाली प्रविधि कम्पनी, नवप्रवर्तनकर्ता तथा नयाँ प्रविधिमा आधारित व्यवसायलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्याउने उद्देश्यले आईसीटी अवार्ड र नास(आईटीबीच समझदारी भएको छ।
समझदारीअनुसार राष्ट्रिय स्तरमा आईसीटी अवार्डमार्फत उत्कृष्ट ठहरिएका प्रविधि तथा नवप्रवर्तनलाई एसिया(प्रशान्त क्षेत्रको प्रतिष्ठित एपीआईसीटीए अवार्डमा सहभागी गराउन आवश्यक सहजीकरण र मार्गदर्शन उपलब्ध गराइनेछ ।
यसअन्तर्गत योग्य कम्पनी, नयाँ व्यवसाय तथा नवप्रवर्तनकर्तालाई अन्तर्राष्ट्रिय अवार्डका लागि आवश्यक विधा छनोट, आवेदन तथा मनोनयन प्रक्रिया र प्रस्तुति तयारीमा सहयोग गरिनेछ। साथै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्वरूप बुझ्न तथा आफ्ना प्रविधि र उत्पादनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न आवश्यक तयारीमा समेत सहजीकरण गरिने जनाइएको छ ।
आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले नेपालमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नु आईसीटी अवार्डको स्वाभाविक अर्को चरण भएको बताए ।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले सहकार्यले नेपाली प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजार, सञ्जाल तथा व्यावसायिक सम्भावनासँग जोड्ने अवसर प्रदान गर्ने बताए। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता अवार्ड प्राप्त गर्ने प्रयास मात्र नभई विश्व बजारमा नेपाली उत्पादन र क्षमताको पहिचान स्थापित गर्ने अवसरसमेत भएको उनको भनाइ छ ।
नास–आईटीका पूर्वअध्यक्ष गौरव राज पाण्डेले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा नेपाली कम्पनी तथा नवप्रवर्तनकर्ताको सहभागिता बढ्दा नेपालको प्रविधि क्षेत्रको क्षमता विश्वसामु प्रस्तुत हुने बताए। यस्ता मञ्चले नेपाली कम्पनीलाई आफ्ना प्रविधि समाधानलाई अन्तर्राष्ट्रिय मापदण्डसँग तुलना गर्दै सुधारका सम्भावना पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
आईसीटी अवार्ड र नास(आईटीबीचको सहकार्यले नेपालमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्याउने संस्थागत आधार तयार हुने अपेक्षा गरिएको छ।
एपीआईसीटीए अवार्ड एसिया(प्रशान्त क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र उपलब्धिलाई सम्मान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तनकर्ताको सहभागिता बढाउने उद्देश्यले गरिएको यो सहकार्यले नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र पहुँच विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया