काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीलाई लक्षित गर्दै ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतनामूलक वेबिनार आयोजना गरेको छ।
मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतको सहकार्यमा आयोजित वेबिनारमा ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीलाई लक्षित गरिएको थियो। कार्यक्रममा अस्पतालका क्लिनिकल तथा प्रिभेन्टिभ कार्डियोलोजीका उपाध्यक्ष डा.मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए।
वेबिनारमा हृदय तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम कारक, रोकथामका उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता तथा स्वस्थ जीवनशैली अपनाउने महत्वबारे जानकारी दिइएको थियो। नियमित व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत हृदय स्वास्थ्य सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीलाई सचेत गराइएको थियो।

अनलाइन माध्यमबाट आयोजित कार्यक्रममा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका ४ सय ४६ जना कर्मचारीको सक्रिय सहभागिता रहेको बैंकले जनाएको छ।
बैंकले कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
यसैगरी, बैंकका कार्डवाहक ग्राहकलाई उपचारका क्रममा थप सहजता प्रदान गर्ने उद्देश्यले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको बैंकले जनाएको छ।
सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।





प्रतिक्रिया