प्रधानमन्त्री राहत कोषमा एसटीसी ग्रुपले गर्याे ५० लाख १ हजार सहयोग


काठमाडौँ । एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ रुपैयाँ सहयोग गरेको छ । ग्रुपले बिहीबार उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ । एसटीसी ग्रुपले आधिकारिक बितरक भएर काम गर्दै आएको भारतिय भेरोक इन्टरनेशनल कम्पनीले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । दुबै मिलाएर कम्पनीले एकमुस्ठ रुपमा ५० लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । “भोटेकोसी क्षेत्रमा आएको बाढीले धेरै परिवारको जनजीवन प्रभावित बनाएको छ । यस्तो कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने विश्वासका साथ हामीले सहयोग गर्ने निर्णय गरेका हौं,” उप्रेतीले भने, “हाम्रो सानो सहयोगले प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौं ।”

एसटीसी ग्रुप नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट तथा टायरलगायतका उत्पादनको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको व्यावसायिक समूह हो । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।