काठमाडौँ । कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले पीसीएएफको सदस्य बनेसँगै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता कायम गर्ने भएको हो ।
पीसीएएफको सदस्य बनेपछि बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्न पीसीएएफले विश्वव्यापी रूपमा मान्यता दिएको मापदण्ड र विधि प्रयोग गर्नेछ । यसले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप व्यवस्थित बनाउने अपेक्षा बैंकले गरेको छ ।
न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणतर्फ अघि बढ्न वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले पीसीएएफमा आबद्धताले बैंकलाई आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्न थप सहयोग पुग्ने बैंकले जनाएको छ । प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी योजनामा प्रयोग गर्ने बैंकको लक्ष्य छ ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप रूपमा मूल्यांकन तथा खुलासा गर्न साझा ढाँचा उपलब्ध गराउँदै आएको छ । सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको पीसीएएफमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध रहेको बैंकले जनाएको छ ।
कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए । वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे तथ्यमा आधारित जानकारी प्राप्त हुँदा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ छ ।
बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई थप समावेश गर्ने जनाएको छ । साथै नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन विभिन्न सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने बैंकको भनाइ छ ।
देशभर बैंकिङ सेवा विस्तार गरेको कुमारी बैंकसँग २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ पीओएस टर्मिनल रहेको छ । बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय भिसा कार्ड सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।
ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै बैंकले आफ्ना उत्पादन, जनशक्ति र रणनीतिक साझेदारीमार्फत दिगोपनसम्बन्धी पहललाई अघि बढाउने जनाएको छ । देशव्यापी बैंकिङ सञ्जालमार्फत समावेशी तथा जिम्मेवार वित्तीय समाधान प्रवद्र्धन गर्ने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।





प्रतिक्रिया