बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ?


नुवाकोट । रसुवास्थित भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आधारित विद्युत् आयोजनामा ठूलो असर परेको छ । ती आयोजनामा कार्यरत सयौँको सङ्ख्यामा कर्मचारी हालसम्म पनि सम्पर्कविहीन छन् । कतिपयले ती आयोजनाका सुरुङमा मानिस अझै फसेको हुनसक्ने आशङ्का व्यक्त गरिरहेका छन् । यसै सन्दर्भमा नेपाली सेना, विभिन्न आयोजनामा कार्यरत कर्मचारी लगायतसँग गरिएको कुराकानीका आधारमा आयोजनामा भइरहेको प्रयासबारे तयार गरिएको खोलमूलक विवरणः

सुवागढी जलविद्युत् आयोजना

नेपाल–चीनको सीमादेखि ४.५ किलोमिटर नजिक रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृह बाढीबाट सबैभन्दा पहिले प्रभावित भयो । जसका कारण अहिले उक्त आयोजनाको हेडवक्र्सका सम्पूर्ण संरचना र पावर हाउस बाहिर र भूमिगत पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको छ । नेपाल–चीन सीमा क्षेत्रमा रहेका केरुङ र टिमुरे बजार नजिकको यस आयोजनाका अनुसार त्यहाँ कार्यरत कर्मचारी, कामदारलगायत ९३ जना सम्पर्कविहीन छन् ।

आयोजनाका वरिष्ठ जियोलोजिष्ट तथा टनेलविज्ञ विष्णु सिवाकोटीका अनुसार यही भदौ १० गतेदेखि नै उद्धार सुरु गरिएको थियो तर विभिन्न कठिनाइका कारण सम्भव भएको छैन । भदौ ११ गते आयोजनामा कार्यरत कर्मचारीका आफन्त पनि त्यहाँ गएका थिए । भदौ १२ गतेदेखि उद्धार निरन्तर सुरु गरियो । सोही दिन नेपाली सेनाले निरीक्षण पनि गरेको थियो । त्यसभन्दा अगाडि सामान पुर्याउनै पनि कठिन भयो । त्यसको केही दिनपछि मिनी एक्साभेटर झारेर काम सुरु गरियो । बाढीग्रस्त त्यस क्षेत्रमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टर ल्यान्ड गर्न सक्ने अवस्था थिएन ।

उनका अनुसार कम्पनीका ५२ जना, भेनस कम्पनीका तीन जना, दैनिक ज्यालादारीमा कार्यरत दुई जना, चिनियाँ कम्पनी सिडब्ल्युईका एक चिनियाँसहित पाँच जना र शेर्पा हाइड्रोका ३१ जना कर्मचारी घट्टेखोलामा कार्यरत थिए । आयोजनामा कार्यरत दुई जनाको शव फेला परिसकेको छ भने चार जनाको सकुशल उद्धार भइसकेको छ ।

आयोजनाका अनुसार टनेलमा खासै क्षति छैन । पावर हाउसमा आंशिक क्षति भएको छ भने ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त आयोजना नदीदेखि १२ मिटरको दूरीमा छ । सेनाका अनुसार सो आयोजनामा भदौ १३ गतेदेखि उद्धारको प्रयास सुरु गरियो । बाढीका कारण सुरुमा त्यहाँको अवस्था निकै कठिन थियो ।

नेपाली सेनाले हेलिकप्टरमार्फत जेनेरेटरलगायतका आवश्यक उपकरण ढुवानी गरी लगेको थियो । उक्त आयोजनामा कार्यरत एक जना कर्मचारीलाई भदौ १४ गते उद्धार गरी उनीहरुकै सहयोगमा टनेलभित्र खोजी गरियो । टनेलको करिब २७५ मिटरसम्म मात्रै पुग्न सकियो तर त्यहाँ थप कोही पनि फेला नपरेको सेनाले जनाएको छ ।

यद्यपि, त्यसपछिका दिनमा पनि टनेलभित्र तथा अन्य आसपास क्षेत्रमा खोजी जारी नै छ ।

लाङटाङ खोला जलविद्युत् आयोजना

सेनाका अनुसार लाङटाङ खोला जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै उद्धार कार्य सुरु भएको थियो । पहिलो दिन नेपाली सेनाले आयोजनाको रेकी गरेको थियो । २० मेगावाट क्षमताको यो जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि प्रत्यक्ष रुपमा उद्धारको प्रयास गरिएको थियो । नेपाली सेनाले सुरुआती चरणमा भारतीय सेनासँगको सहकार्यमा काम सुरु गरेको थियो । टनेलभित्र ६० मिटर प्रवेश गरेपछि ठूला चट्टानहरु भेटिएका थिए । खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि भदौ १६ गते उक्त जलविद्युत् आयोजनाका तीन तथा नेपाली सेनाका २५ दक्ष जनशक्तिलाई आवश्यक उपकरणहरुसहित तैनाथ गरिएको थियो । ग्यास वैल्डिङको माध्यमबाट सहायक टनेलमा प्वाल पारी भित्र प्रवेश गरिएको थियो ।

आयोजनाबाट विद्युत् उत्पादन नभइसकेकाले छदेखि सात जना मात्रै त्यहाँ कार्यरत थिए । उनीहरु वैल्डिङ तथा मर्मतको काम गरिरहेका थिए । बाँकी कर्मचारीहरु पावर हाउस र क्वार्टरमा थिए । सुरुमा टनेलको निश्चित क्षेत्र प्रवेश गर्नका लागि प्वाल खोलेर काट्ने काम भएको थियो । त्यसपछि टनेलमा तीन जना मृत भेटिएका थिए । थप खोजी गर्दा कोही पनि नभेटिएको र खोजी अहिले पनि जारी रहेको नेपाली सेनाको भनाइ छ ।

चिलिमे जलविद्युत् आयोजना

बाढीग्रस्त चिलिमे जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि नेपाली सेनाले उद्धार कार्य सुरु गरेको थियो । भदौ १३ गते भारतबाट आएको विशेषज्ञ खोज तथा उद्धार टोली आई सोही मितिमा काम सुरु गरेको थियो । भदौ १४ गते संयुक्त रुपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो ।

सुरुमा आयोजनाको भित्रसम्म हिलो भरिएकाले जान समस्या भएको थियो । २२ मेगावाट क्षमताको सो आयोजनाका बाहिरी संरचना सबै बगेका छन् । नदीसँगै रहेको आयोजनामा अहिले सर्भिस टनेल मात्रै पत्ता लागेको छ । तर टनेलको मुखसम्म बाढीले कटान गरेकाले स्थान अभावमा ठूला हेलिकप्टर ल्यान्ड गर्न निकै कठिन थियो । त्यसैले सानो हेलिकप्टरमा एक पटकमा बढीमा तीनजना मात्रै झर्ने र भित्ताको आडमा पाँच÷छवटा हुक लगाएर मानिस र सामान तान्नु परेको अवस्था थियो । उक्त टनेलमा जानका लागि बाटोबनाउने काम पनि सुरु भएको छ । स्याफ्रुबेँसी बजारबाट दुई वटा एस्काभेटरले बाटो बनाइरहेको आयोजनाका लेखाप्रमुख धुव्रराज न्यौपानेको भनाइ छ । काम गर्नका लागि मौसमको पनि चुनौती छ ।

यद्यपि, नेपाली सेनाको अथक एवं साहसिक प्रयासपछि हाल उक्त आयोजनाको मुख्य टनेलको १०० मिटरभित्र पुग्न सकिने भएको छ । हाल भारतीय सेनाले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । जसमा ४० जना जनशक्ति छन् । घटना हुने समयमा आयोजनामा सेक्युरिटी गार्ड एक, कर्मचारी एक र इन्जिनियर तथा ओभरसियर चारसहित जम्मा छ जना कार्यरत थिए । टनेलको इनलेट पोर्टलको उचाइ एक हजार ३९५ मिटर रहेको तर टनेलभित्र ‘इमर्जेन्सी एसेम्बली’ (आपत्कालीन समयमा जम्मा हुने ठाउँ) को उचाइ एक हजार ४०५ मिटर भएकाले टनेलभित्र फसेका मानिसहरु जीवित हुनसक्ने आशङ्का छ । उक्त आयोजनाबाट दुई वटा शव फेला परेको थियो ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना प्रभावितमध्ये सबैभन्दा ठूलो आयोजाना हो । २१६ मेगावाट क्षमताको यो आयोजनातर्फ धेरैको चासो व्यक्त भएको छ । यसको कारण हो, यो कम्पनीमा नेपाली, चिनियाँ, कोरियन र भारतीय नागरिकहरुले काम गरिरहेका थिए । एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको यो आयोजनामा भदौ १० गतेदेखि नै उद्धारको प्रयास गरिएको थियो । आयोजनाको हेडवक्र्स हाकुबेँसीमा थियो । जहाँ ठूलो सङ्ख्यामा मानिसहरु कार्यरत थिए भने आयोजनाको मैलुङ पोस्ट नजिकैको अडिट चारअन्तर्गत टनेलबाहिर र भित्र गरी ठूलो सङ्ख्यामा कामदारहरु कार्यरत थिए ।

बाढीबाट जोगिएका आयोजनाका रेसिडेन्ट हेड इन्जिनियर रवीन्द्र हमाल बाढी आउँदा करिब ५०० को हाराराहारीमा टनेलका विभिन्न भागमा काम गरिरहेको हुनसक्ने आशङ्का व्यक्त गर्छन् । जसमध्ये बाढीको समयमा बाहिर आए र कति भित्र फसे भन्ने अझै यकिन तथ्याङ्क छैन । नेपाली सेनाले सुरुमा उक्त आयोजनास्थलबाट २५४ जनाको उद्धार गरेको थियो । सो आयोजनामा कार्यरत करिब ५०० व्यक्ति अझै सम्पर्कविहीन छन् ।

हमालका अनुसार आयोजनामा विभिन्न छ वटा फेज थिए । जसमा फेज एक र दुईमा ग्रान्डिङको काम भइरहेको थियो । त्यहाँ करिब ४० जना कामदार थिए । फेज तीन र चारमा कङ्क्रिट लाइनिङ र ड्रिलिङको काम भइरहेको स्थानमा ५० जना जति काम गरिरहेका थिए । फेज पाँच र चारमा इनभर्ट तथा फुल फेज लाइनिङको काम गर्ने करिब ७० जना कामदार थिए । त्यसपछि भर्टिकल साफ्टमा लाइनिङ, जिभा ड्रेन तथा वाटर सेपेज कन्ट्रोलका काम गर्ने करिब ४० जना थिए । पावरहाउसको पेनस्टक क्षेत्रमा पनि इएम र एचएमसम्बन्धी काम भइरहेको थियो, त्यहाँ करिब ८० जना कामदार थिए । टेलरेसतर्फ भने धेरै जनशक्ति आवश्यक नभएकाले १० जनाको आसपासमा रहेको हमालले जानकारी दिए ।

हेडवक्र्सबाट आएको बाढीको प्रभाव सबैभन्दा पहिले त्यसै क्षेत्रमा परेको देखिन्छ । हेडवक्र्स टनेलबाट करिब दुई हजार ३०० मिटरपछि अडिट एक आउँछ त्यसपछि अडिट तीन र अडिट चार लगायतका संरचना छन् । अहिले टनेलभित्र सम्भावित मानिसको खोजी भइरहेको छ । नेपाली सेनाको प्रयास २४सै घण्टा काम गर्ने भन्ने छ । अहिलेको मुख्य चुनौती केही संरचनाहरु गेट अपरेसनका लागि हुन्छन् । उक्त क्षेत्रमा ठूलो मात्रामा हिलो नपुगेकाले केही मानिसहरु माथिल्लो भागमा सुरक्षित रुपमा बसेको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त टनेलबाट ११ औँ दिनमा एक जना चिनियाँ नागरिकलाई उद्धार गरिएको छ भने यस आयोजनाबाट १० औँ दिनमा एक जनाको शव फेला परेको थियो । आयोजनाको सुरुङबाट भदौ २० गते दुई वटा शव फेला परेको थियो । टनेलमा थप मानिसहरु हुने आशङ्कामा नेपाली सेनाको नेतृत्वमा कोरियन र चिनियाँ विशेषज्ञ रहेको टोली अहिले पनि उद्धार कार्यमा सक्रिय रहेको छ ।

त्रिशूली ३ ‘ए’

यो आयोजनामा धेरै मानिस परेको हुनसक्ने भनी धेरैको चासो र चिन्तो थियो । सुरुमा आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन थिए । जसमध्ये १०औँ दिनमा दुई जनाको उद्धार गरिएको थियो भने एक जनाको टनेलभित्रबाट शव फेला परेको थियो । प्राविधिक तथा उद्धार टोलीले दोहोर्याएर खोजी गर्दा पनि नभेटेको जनाएको छ । सो आयोजनामा भदौ ११ गते बेलुकादेखि नै उद्धार सुरु गरिएको थियो । उद्धारमा इन्जिनियर पनि भएका सांसद श्रीराम न्यौपाने र सागर ढकालले पनि ठूलो सहयोग गरेको आयोजनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार सुरुमा यो आयोजनाको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उद्धार सुरु गरिएको थियो । मुख पत्ता नलागेपछि ‘लोकेसन’ पत्ता लगाउन प्राधिकरणबाट नक्सा माग गरिएको थियो । भदौ १२ गते ‘रेकी’ गरी भदौ १३ गतेदेखि काम सुरु भएको थियो । सुरुमा त्यहीँ रहेका एक्साभेटरको प्रयोग गर्ने भनिएको थियो । तर इन्धन अभाव र मेसिनले नै काम नगरेपछि हेलिकप्टरमार्फत तीन वटा एक्साभेटर लगिएको थियो । हाल पछिल्लो समय उक्त स्थानमा छ वटा एक्साभेटरले काम गरिरहेका छन् ।

नेपाली सेनाका अनुसार माथिबाट करिब २५ मिटर खनेपछि केवल टनेल पत्ता लागेको थियो । त्यसपछि उद्धार टोली घ्रिसिएरभित्र प्रवेश गरेको थियो । टनेलको मुख खोल्नका लागि काठमाडौँ–तराई मधेस द्रुत मार्गको आयोजनाबाट विस्फोटनको सामान माग गरिएको थियो । त्यतिले नपुगेर नागढुङ्गा टनेल आयोजनाबाट कम्प्रेसर माग गरिएको थियो । नागढुङ्गाबाट एउटा हेलिकप्टरमा ल्याउने भनिएको सामानका लागि पाँच वटा उडान लागेको थियो । कम्प्रेसर ल्याउन पनि ठूलो समस्या भएको थियो । आयोजनाका लागि दुई वटा उडानमार्फत ड्रिलिङ मेसिन लगिएको थियो । ठूलो प्रयासपछि मात्रै काम सुरु गरिएको थियो । आयोजनामा नेपाली सेनासँगै चिनियाँ र कोरियन टोलीले पनि काम गरेको थियो ।

त्रिशूली–३ ‘बी’ आयोजना

त्रिशूली–३ बी जलविद्युत् आयोजनाको सुरुङ बाहेकको संरचनापूर्णरुपमा क्षतिग्रस्त छन् । जसमा ४० भन्दा बढी कर्मचारी पुरिएको आशङ्का आयोजनाको छ । सुरुका दिनमा दलदलका कारण हेभी इक्विपमेन्ट ढुवानी गर्न सकिएको थिएन । सुरुङमा ठूलो समस्या छैन । भदौ ११ गते उद्धारका लागि गएको नेपाली सेनाको टोलीले हिलोका कारण अवतरण गर्न सकेको थिएन । सुरुका केही दिनमा त आयोजनाको कुन संरचना कहाँ थियो भन्ने नै बुझ्न नसकिएको अवस्था थियो । पछि प्राविधिकको सहयोगमा भदौ १३ गतेदेखि उक्त आयोजनामा उद्धारको प्रयास सुरु गरिएको थियो । उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो ।

घटनाको समयमा अधिकाङ्श मानिस कार्यालय र आवासीय भवनमा रहेको त्यहाँ कार्यरत किसन अधिकारीले बताए । उनका अनुसार टनेलभित्र समस्या छैन । “मेरो छोरी र आमा आवासीय भवनमा हुनुहुन्थ्यो, उहाँहरु अहिलेसम्म सम्पर्कविहीन भएको अवस्था छ, अहिलेसम्म उद्धारले सफलता पाएको छैन, धेरै साथीहरु हाम्रा आँखाअगाडि नै बाढीमा बग्नुभयो, म भागेर बाँच्न सफल भए, बाढीको सूचना पाएको एकाध मिनेटमै अकल्पनीय अवस्था सिर्जना भयो”, उनले भने । आयोजना नजिकैको सुकम्वासी बस्तीको अस्तित्व नै मेटिएको छ तर पावर हाउस, कार्यालय र छ वटा आवासीय भवन पूर्ण रुपमा बाढीले पुरिएका छन् । ती क्षेत्रमा ५०/५० मिटर क्षेत्रमा १५ मिटर गहिरो खाल्डो पनि खनिएको छ ।

हाल आयोजनाका प्रबन्ध निर्देशकसहित नेपाली सेनाको ८९ जना दक्ष जनशक्ति खटिई काम भइरहेको छ । जेनेरेटर र कम्प्रेसर तथा अन्य विपद्का उपकरणको प्रयोग गरी खोज तथा उद्धार कार्य भइरहेको छ ।

टनेलको प्रवेश विन्दुबाट छातीको सतहसम्म रहेको दलदल पछाउँदा विभिन्न तरिका तथा उपकरणको सहायताले अडिट टनेलको १.७ किलोमिटरभित्र प्रवेश भइसकेको । जसमा एउटा गाडी फेला परेको छ । हाल त्रिशूली ३ ‘ए’ बाट त्रिशूली ३ ‘बी’मा एक्साभेटर लैजाने काम पनि भइरहेको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।