एनपिएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज तेस्रो संस्करणको एनपिएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो ।

क्यानद्वारा आज जारी प्रेस विज्ञप्तीमा मिडिया तथा टिकट बिक्री गर्ने अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया पूरा गरी सफल अधिकारधनी कम्पनीहरूलाई अधिकार प्रदान गरेको जनाएको हो । इसेवा लिमिटेडले टिकट बिक्री गर्ने अधिकार ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ । क्यानका अनुुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र पाँच प्रतिशत इसेवालाई प्राप्त हुनेछ ।

क्यानका अनुसार विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालीलाई १८ करोड ४ लाख रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी नेपालभित्र टेलिभिजन प्रशारण अधिकार भने हिमालयन टेलिभजनले प्राप्त गरेको छ । यसका लागि हिमालनय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँको बोलपत्र पेश गरेका थियो । एनपिएल आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म राजधानीमा आयोजना हुँदैछ ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।