काठमाडौँ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीनको प्रमुख व्यापारिक नाका ध्वस्त बनाएको छ । बाढीले दुई देश जोड्ने रसुवागढी राजमार्गको ठुलो खण्ड बगाएपछि दुई देशबिचको मुख्य स्थलगतमार्ग टुटेको छ ।
बाढीको चपेटामा परेर रसुवागढी भन्सारको अस्तित्व नै मेटिएको छ । बाढीका कारण दसैँ तथा तिहारलाई लक्षित गरी आयात गरिएका १० अर्ब रुपैयाँभन्दा बढीका सामान नष्ट भएको प्रारम्भिक अनुमान व्यवसायीहरूको छ ।
रसुवा बाढीले रसुवागढी नाका तहसनहस भएपछि त्यसको असर यतिबेला चिनियाँ मालसामान आयातको एउटै विकल्प मुस्ताङको कोरला नाकामा परेको छ । चिनतर्फ जोडिएको उत्तरतर्फको अर्को नाका तातोपानी भन्सार पनि थियो तर भोटेकोसी बाढीपछि चिनियाँपक्षले उक्त नाका पनि बन्द गरेको छ । सम्भावित जोखिमलाई आधार मानेर तातोपानी भन्सारसमेत रोकेको हो ।
तातोपानी नाका पनि बन्द हुँदा यसको लोड थप मुस्ताङ भन्सारमा थपिएको छ । चीनतर्फको व्यापारीक सम्बन्ध यतिबेला कोरला नाकाबाट मात्र हुने गरेको छ ।
चिनियाँपक्षबाट मालसामान आयात गर्नका लागि नाका बन्द गरे पनि पर्यटक र सर्वसाधारणलाई आवतजावतमा रोक नगरेको तातोपानी भन्सार अधिकृत तुलबहादुर पाण्डेले बताएका छन् ।
दुवै नाका एकैपटक बन्द हुँदा कोरला नाकामा भन्सार जाँचपासका लागि क्रमशः लोड बढ्दै छ । यसअघि यो नाकाहुँदै तयारी पोशाक र केही कस्मेटिक प्रोडक्टहरू मात्र भित्रिने गरेकोमा अब चीनबाट आयात हुने सम्पूर्ण सामानहरु भित्रिन थालेको छ ।
अहिले मुस्ताङ भन्सारहुँदै दैनिक १५ वटासम्म विद्युतीय सवारी र १० वटा बढी माल वस्तु बोकेका कन्टेनर भित्रिरहेको भन्सार अधिकृत बिदुर चुडालले बताएका छन् । सो परिणाममा कन्टेनरहरु भित्रिदा भदौ १० देखि २३ गतेसम्म मात्रै ५६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको उनले जानकारी दिए ।
‘चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा माल वस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको छ ।’ उनले भने, ‘४० दिनमा ५२ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको सो भन्सार कार्यालयले हालसम्म १ अर्ब ८ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।’
गत आर्थिक वर्ष २०८२/८३ मा कोरला नाकाबाट १४ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात हुँदा ६ अर्ब ९२ करोड राजस्व संकलन गरेको थियो । सो अवधीमा नेपालबाट २० करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
उनका अनुसार, भन्सारमा चाप बढेसँगै भन्सार जाँचपास र लोड अनलोडमा समस्या भएको थियो । तर, अहिले भन्सारका कर्मचारी, जनशक्तिका लागि भने भन्सार विभागले ६ जना कर्मचारी पठाएको छ ।
पहिला १० जनाले काम गरिरहेको र अहिले केन्द्रबाट ६ जना पठाएसँगै १६ जना कर्मचारी भएर गरिरहेको उनले जानकारी दिए । तर, भन्सारको चाप म्यानेज गर्न यति जनशक्तिले पनि कठिन पर्ने स्थिति रहेको उनको भनाई छ ।
उत्तरतर्फका दुईवटै नाका जोखिमपूर्ण भएसँगै तत्कालका लागि कोरला नाका सञ्चालनमा आए पनि दीर्घकालिन रुपमा यो नाका सहज नहुने भन्सार विभागका निर्देशक किशोर बर्तौलले बताएका छन् ।
‘तुलनात्मक रूपमा लामो दुरी र लागत लगायतका कारणहरूले गर्दा मुस्ताङ नाकालाई व्यावसायिक रूपमा विकल्प बनाउन कठिन छ,’ उनले भने, ‘काठमाडौंदेखि अप्पर मुस्ताङको कोरला नाकासम्मको दूरी ४८२ किलोमिटरभन्दा बढी छ, जुन तुलनात्मक रूपमा काठमाडौं–तातोपानी र काठमाडौं–रसुवागढीसम्मको दूरीभन्दा दोब्बरभन्दा बढी हो ।’
जबकी काठमाडौं–रसुवागढीको दूरी जम्मा १७५ किलोमिटर हो भने काठमाडौं–तातोपानीको दूरी जम्मा ११५ किलोमिटर मात्र हो । यसले पनि दूरीका हिसाबले मुस्ताङस्थित कोरला नाका उति व्यावहारिक नदेखिने उनको भनाई छ । उनका अनुसार, लागत दोब्बरभन्दा बढी नै आउँछ । बाटोको सहजताका हिसाबले पनि सहज छैन । साघुरो बाटो हिउँदको समयमा चिसो बढी हुँदा काम गर्न सक्ने अवस्था नै नहुने उनले उल्लेख गरे ।
चीनतर्फका दुईवटै प्रमुख नाका ठप्प भएसँगै बजारमा महँगी बढ्न सक्ने आंकलन व्यापारीहरूले गरेका छन् । काठमाडौँ–कोरलाको दूरी बढी रहेका कारण दुवानी खर्च बढ्ने र बजारमा त्यसको असर पर्ने हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए ।
‘चीनतर्फको नजिकको नाका भनेकै रसुवा र तातोपानी हो ।’ उनले भने, ‘तर यी दुवै नाका नहुँदा विकल्पमा कोरला नाकाबाट आयात गरिएको हो ।’
उनका अनुसार, चीनबाट सामान बोकेको कन्टेनर तातोपानी हुँदै काठमाडौँ आउँदा ७५ हजार रुपैयाँ ढुवानी खर्च लाग्छ, रसुवागढीबाट ल्याउँदा करिब डेढ लाख खर्च लाग्थ्यो भने कोरलाबाट ल्याउँदा ५ लाख रुपैयाँको हाराहारी खर्च लाग्छ । यसरी ढुवानी खर्च लाग्दा सामानको मूल्य स्वभाविक बढ्ने उनको भनाई छ ।
तत्कालको लागि कोरला नाकाबाट आयात गर्ने गरिएपनि त्यत्ति सहज नहुने उनले जानकारी दिए । बाढीले सामान बगाएपछि व्यवसायीहरू दोहोरो मारमा परेको कार्कीले उल्लेख गरे । सामान नेपाली भन्सार विन्दुमा नआई चिनियाँ भूमि मै बगेका कारण बिमा कम्पनीहरूले क्षतिपूर्ति दिन आनाकानी गरिरहेको उनले बताए ।
धेरैजसो सामानको बिमासमेत नभएको व्यवसायीहरू बताउँछन् । बैंकबाट ऋण लिएर र घरजग्गा धितो राखेर ल्याएको सामान नष्ट हुँदा एकातिर लगानी डुबेको छ भने अर्कोतिर बैंकको किस्ता र ब्याज तिर्नुपर्ने दबाबले व्यवसायीहरू चिन्तित छन् ।
मुख्य चाडपर्वको लागि सामान आयात गर्नुपर्ने नै हुन्छ । तर, ढुवानी खर्च खढी पर्न जाँदा उपभोक्ता महँगीको मार पर्ने देखिएको छ । जस कारण तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।





प्रतिक्रिया