महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित


काठमाडौँ। महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत लगातार तेस्रो पटक प्रमाणित भएको छ।

बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको आधारमा पुनः प्रमाणपत्र प्राप्त गरेको हो। बैंक पहिलो पटक २०८१ साल श्रावण ३२ गतेदेखि लागू हुने गरी प्रमाणित भएको थियो। त्यसपछि २०८२ साल भदौमा सम्पन्न पहिलो पुनरवलोकन परीक्षणबाट समेत पुनः प्रमाणित हुन सफल भएको थियो।

२०८३ साल श्रावणमा सम्पन्न तेस्रो पुनरवलोकन परीक्षणपछि बैंक २०८३ साल श्रावण ३२ गतेदेखि लागू हुने गरी पुनः प्रमाणित भएको जनाएको छ। विकास बैंकहरूमध्ये यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा महालक्ष्मी विकास बैंक अग्रणी रहेको बैंकको दाबी छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्ने, उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा कार्यप्रणालीमा निरन्तर सुधार गर्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुने बैंकले जनाएको छ।

प्रमाणपत्र प्राप्तिका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण र लेखापरीक्षण गरिएको थियो।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल सेवा केन्द्रसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार  १४ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।