काठमाडौँ । नेपाल कै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले साना तथा मझौला व्यवसायका लागि ‘बिज म्यानेज वाईफाइ सोलुशन’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यो नेपालमै पहिलो म्यानेज्ड वाईफाई सोलुशन हो ।
व्यवसायिक परिसरका सबै क्षेत्रमा समान र भरपर्दो वाइफाइ कभरेज तथा क्लाउडमार्फत नेटवर्क व्यवस्थापनको सुविधा दिने गरी बिज–२४ तयार पारिएको कम्पनीले जनाएको छ । यसमा ग्राहकका समस्या छिटो समाधानका लागि प्रायोरिटी सपोर्टसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
धेरैजसो साना तथा मझौला व्यवसाय अझै घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर रहेको वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीले बताएका छन् । यसका कारण कार्यालय वा व्यवसायिक परिसरका कतिपय स्थानमा वाइफाइ सिग्नल नपुग्ने, महत्त्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा नेटवर्कको अवस्थाबारे पर्याप्त जानकारी नहुने समस्या देखिने गरेको उनले जानकारी दिए ।
‘यिनै चुनौतीको समाधानका रूपमा बिज–२४ ल्याइएको हो,’ उनले भने, ‘यसले व्यवसायलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ ।’
क्लिनिक, रेस्टुरेन्ट, मार्ट, स्टुडियो तथा को–वर्किङ अफिसलगायत व्यवसायलाई लक्षित गरी बिज–२४ डिजाइन गरिएको कम्पनीले जनाएको छ । व्यवसायको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार वाइफाइ नेटवर्कको योजना तथा समाधान उपलब्ध गराइनेछ । बिज–२४ मा बिजनेश ग्रेड राउटर, पब्लिक स्टाटिक आईपी र प्रायोरिटी सपोर्ट समावेश रहेका छन् । पब्लिक स्टाटिक आईपीमार्फत् सीसीटीभी, विभिन्न सफ्टवेयर तथा अन्य आईटी सेवा सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार बिज–२४ राइज, थ्रो र प्रो गरी तीन तहमा उपलब्ध छ । यसअन्तर्गत २०० एमबीपीएक देखि १ जीबीपीएससम्मको इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ । व्यवसायको आकार र आवश्यकता बढ्दै जाँदा नेटवर्क विस्तार गर्नसमेत सहज हुने कम्पनीले जनाएको छ ।
बिज–२४ को वार्षिक मूल्य ३० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ । उक्त मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समावेश छैन । सेवा नयाँ तथा नवीकरण गर्ने ग्राहकका लागि देशभर उपलब्ध रहेको कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।





प्रतिक्रिया