भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ९० अर्ब रुपैयाँको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि चार खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रतर्फ बाढीका कारण कूल ७५९.०२५ मेगावाट क्षमताका १३ वटा जलविद्यत् आयेजना प्रभावित भएका छन् । जसमा २४.३६ मेगावाट क्षमताको पाँच वटा सोलार प्लान्टसमेत समावेश छन् । प्रतिवेदनमा बाढीका कारण एउटा सवस्टेसन, तीन वटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुगेको छ । ऊर्जा क्षेत्रमा कूल एक खर्ब ५१ अर्ब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । यो क्षेत्रको पुनःरुत्थानका लागि तीन खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

घरायसी नवीकरणीय ऊर्जातर्फ पनि ठूलो क्षति पुगेको छ । जसमा २ हजार ४५० वटा सोलार ‘होमसिस्टम’, २ हजार ७४० बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाटको लघुजलविद्युत्, १८५ ‘वाटरमिल्स’ र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ । घरायसी नवीकरणीय ऊर्जामा ५६ करोड रुपैयाँको क्षति भएको छ भने यसको पुनःरुत्थानका लागि एक अर्ब ६४ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको अनुमान छ । जसमध्ये ५५ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा १५० मिटरमा क्षति पुगेको छ । सडक संरचनातर्फ २३ अर्ब ४२ करोड रुपैयाँको क्षति पुगेको छ । उक्त क्षेत्रको पुनःरुत्थानका लागि ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

बाढीका कारण ३३ वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । तेत्तिस वटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुगेको छ । पुलमा मात्रै ११ अर्ब ३५ करोड रुपैयाँको क्षति पुगेको छ भने पुनरुत्थानका लागि १८ अर्ब १६ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

सञ्चार क्षेत्रमा पनि टेलिकमका बिटिएस टावरमा क्षति पुगेको छ । एनसेलमा २७ वटा र नेपाल टेलिकमका ३८ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । बाढीका कारण १५२.३ किलोमिटर फाइभर केबल र दुई वटा ट्रान्समिसन प्रणाली, एफटिटिएच÷आइएसपीमा प्रभाव परेको थियो । यो क्षेत्रमा करिब ६३ करोड रुपैयाँको क्षति भएको थियो भने पुनःरुत्थानका लागि ९४ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यसैगरी खानेपानी तथा सरसफाइ क्षेत्रमा एक अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने यसको पुनर्निर्माणका लागि दुई अर्ब सात करोड रुपैयाँ लाग्ने अनुमान छ । बाढीका कारण १६ वटा इनार, ९८ वटा इनटेक, १६० वटा ट्याङ्की, ४४३.९ किलोमिटर पाइपलाइन प्रभावित भएका छन् ।

प्रतिवेदनका अनुसार सिँचाइ, नदी संरक्षण क्षेत्रतर्फ चार हजार ९९० मिटर नदी संरक्षण, ७०० हेक्टर सिँचाइ र छ वटा जलसतह मापन केन्द्र प्रभावित भएका छन् । यस क्षेत्रमा करिब एक अर्ब ६५ रुपैयाँ क्षति पुगेको छ भने पुनरुत्थानका लागि चार अर्ब ९४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८३, बिहिबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।