काठमाडौँ । हरितालिका तीजको दिन पनि यस वर्ष बजारमा विगतको जस्तो चहलपहल देखिएको छैन। तीजलाई लक्षित गरी बिक्री बढ्ने कपडा, कस्मेटिक, गरगहना तथा सौन्दर्य सामग्रीको कारोबार बाढीपहिरोका कारण प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा यातायात संरचनामा क्षति पुर्याउँदा सामानको आपूर्ति र उपभोक्ताको आवतजावत प्रभावित हुनुका साथै विपत्तिका कारण उपभोक्ताले खर्च कटौती गरेपछि तीजको व्यापार सुस्त भएको व्यवसायीहरूको भनाइ छ।
बाढीका कारण मुख्य राजमार्ग तथा व्यापारिक मार्ग प्रभावित हुँदा उपत्यकासहित विभिन्न बजारमा सामानको आपूर्ति, ढुवानी र उपभोक्ताको आवतजावत प्रभावित भएको छ । तीज नेपाली बजारका लागि महत्वपूर्ण व्यापारिक सिजनमध्ये एक हो ।
विशेषगरी महिलाले लगाउने साडी, कुर्ता, चुरा, पोते, गरगहना, कस्मेटिक तथा अन्य सामग्रीको बिक्री तीजको समयमा बढ्ने गर्छ । तर यस वर्ष प्राकृतिक विपत्तिका कारण उपभोक्ताको खर्च गर्ने क्षमता र बजारप्रतिको उत्साह दुवै प्रभावित भएको व्यवसायीहरू बताउँछन् ।
मीनभवन स्थित जी एण्ड जी कस्मेटिक पसल सञ्चालन गर्दै आएका गणेशले विगतका वर्षको तुलनामा यस वर्ष तीजको व्यापार आधा पनि नभएको बताएका छन् ।
विगत ७ वर्षदेखि कस्मेटिक पसल चलाउँदै आएका उनले यस वर्ष ७ वर्ष यता कै कम व्यापार भएको बताए । ‘यस वर्ष बाढीका कारण धेरै घर परिवार प्रभावित भएका छन्, मुलुक विपत्तिमा परेको छ ।’ उनले भने, ‘जस कारण मानिसहरु रमाइलोमा निस्किएका छैनन् ।’
उनका अनुसार, यस वर्ष धेरै जसो मानिसहरुले आफुले रमाइलो गर्ने खर्च पीडितहरुलाई राहतमा सहयोग गरेका छन् । बाटोहरु पनि प्रभावित भएका छन् । मानिसहरु आवतजावत गर्न सकेका छैनन् । विगतका वर्षहरुमा एकै जनाले ५/७ जनाका लागि सामान किन्ने गरेकोमा यस वर्ष आफ्नो लागि मात्र किन्नेहरु आएको उनको भनाई छ ।
त्यस्तै, सोशी स्थानमा ज्वेलरी पसल सञ्चालन गर्दै आएकी हृदय कलेक्सनकी मनिसा पनि व्यापार नै नभएको बताउँछिन् ।
‘विगतका वर्षमा व्यापार गर्न भ्याई नभ्याई हुन्थ्यो, यो वर्ष नत मान्छे आउँछन्, नत अनलाइनमा अडर नै ।’ उनले भनिन्, ‘गत वर्ष एक जनाले त अनलाइनका लागि मात्र काम गर्नुपरेको थियो, पसलमा त्यत्ति कै भीड हुन्थ्यो ।’
उनका अनुसार, यस वर्ष व्यापार आधा पनि भएको छैन, बाढीका कारण तीजको व्यापार हुन सकेको छैन । गत वर्षतिर दर खाने कार्यक्रम धेरै हुन्थ्यो सबैले एकै किसिमका गहना मगाउँथे, यस वर्ष दर खाने कार्यक्रम नै भएको छैन । अन्य सिजनमा व्यापार नहुँदा पनि तीजमा भएको व्यापारले व्यवसाय चलिरहेको थियो, यस वर्ष त सिजनमा नै व्यापार हुन सकेन उनले भनिन् ।
‘हाम्रो व्यापार हुने भनेकै तीज र विवाहको सिजनमा हो, दशै तिहारमा त केही मात्रामा मात्र बिक्री हुन्छ ।’ उनले सुनाइन् ।
तीजका लागि नयाँ कपडा तथा गरगहना खरिद गर्ने उपभोक्ताको संख्या विगतको तुलनामा घटेको छ ।
बाढीपहिरोका कारण कतिपय परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने अन्य उपभोक्ताले पनि आगामी दिनमा हुन सक्ने कठिनाइलाई ध्यानमा राख्दै अनावश्यक खर्च कटौती गर्न थालेका छन् । कपडा व्यवसायीहरूका अनुसार, तीजको समय सामान्य अवस्थामा पसलमा ग्राहकको भीड बढ्ने, नयाँ डिजाइनका कपडाको माग बढ्ने तथा कारोबारमा उल्लेख्य सुधार आउने गर्छ । तर यस वर्ष बजारमा ग्राहकको आवागमन कम छ । ग्राहक आए पनि विगतको तुलनामा कम मूल्यका सामग्री रोज्ने प्रवृत्ति बढेको व्यवसायीहरूको अनुभव छ ।
तीजसँग प्रत्यक्ष जोडिएको अर्को व्यवसाय हो सौन्दर्य । तीजको अवसरमा महिलाहरूले पार्लर जाने, मेकअप गर्ने तथा विभिन्न सौन्दर्य सामग्री खरिद गर्ने गरेका छन् । तर यस वर्ष सौन्दर्य व्यवसायमा पनि अपेक्षाकृत कारोबार बढ्न नसकेको रुबीना ब्यूटी पार्लरकी रुबीनाको भनाइ छ ।
उनका अनुसार तीजको केही दिनअघि ग्राहकको चाप बढ्ने भए पनि यस वर्ष बुकिङ तथा सेवा लिन आउने ग्राहकको संख्या अति कम छ । आर्थिक अनिश्चितता बढेका कारण उपभोक्ताले सौन्दर्य तथा मनोरञ्जनसँग सम्बन्धित खर्चमा समेत कटौती गरेको उनको अनुभव छ ।
यता, सुनचाँदी तथा गरगहनाको कारोबारमा पनि तीजको प्रभाव अपेक्षाअनुसार देखिन सकेको छैन । तीजका अवसरमा महिलाले नयाँ गरगहना खरिद गर्ने गर्थे तर, पछिल्लो समय सुनको मूल्य उच्च हुनुका साथै प्राकृतिक विपत्तिको प्रभावसमेत परेको व्यवसायीहरू बताउँछन् ।





प्रतिक्रिया