विपद् प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्रीले छलफल गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेदेखि सुरु भएको छलफलमा १५ वटा प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित प्रतिनिधिसभा सदस्य सहभागी छन्।

बैठकमा बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका योजनाबारे छलफल भइरहेको छ।

छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने सहभागी छन्। त्यस्तै, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी पनि सहभागी छन्।

रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छलफलमा उपस्थित छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइन माध्यमबाट सहभागी भएका छन्।

धादिङका तर्फबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया सहभागी छन्।

त्यस्तै, तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना पनि छलफलमा सहभागी छन्।

विपद्पछिको तत्कालीन व्यवस्थापनसँगै प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनरुत्थानलाई प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार  १३ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।