काठमाडाैँ । मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित अघोर बजार नजिकै त्रिभुवन राजपथको सडक भासिएपछि सवारीसाधन एकतर्फी मात्रै सञ्चालनमा आएका छन्।
सोमबार बिहान करिब ९ः४० बजे सडकको तल्लो भाग भासिएको मकवानपुर प्रहरीले जनाएको छ। सडक भासिएपछि राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी ट्र्याक निर्माणको पहल भइरहेको प्रहरीले जनाएको छ। सडक खुलाउन इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली परिचालन गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि हेटौंडा–काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ। वैकल्पिक मार्गका रूपमा प्रयोग बढेसँगै त्रिभुवन राजपथमा पछिल्लो समय सवारीसाधनको चापसमेत बढेको छ ।





प्रतिक्रिया