असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान


कास्की । पोखरादेखि दुबईको सिधा उडान असोज पहिलो सातादेखि हुने भएको छ ।

असोज ७ को साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  अवतरणको कार्यतालिका छ । पोखरा अवतरण गर्ने फ्लाइ दुबईको विमानलाई पानीको फोहरासहित स्वागत गरिने बताइएको छ ।

पोखरामा यात्रु अवतरणपछि उक्त विमान दुबईका लागि उड्ने छ । ७:१५ मा उक्त विमान दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंहले रावतले बताए । ”फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालोमा उडाउँछ । पहिलो उडानमा पोखरा आउने यात्रुको संख्या उल्लेख्य छ,” रावतले भने । 

दुबई–पोखरा उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । सञ्चालनमा आएको तीन वर्ष बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।

फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजारसम्म सस्तो रहेको बताए।  रासस

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।