सरकारको तथ्यांकमा ग्यास पर्याप्त, तर, कहाँ जान्छ आयातित ग्यास ?


काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति बढाइएको र बजारमा अभाव क्रमशः सहज हुँदै गएको दाबी गरिरहेको छ ।

नेपाल आयल निगमले पछिल्ला दिनमा भारतबाट पर्याप्त ग्यास आयात भइरहेको तथा काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा दैनिक ठूलो परिमाणमा सिलिन्डर वितरण भइरहेको जनाएको छ । तर, उपभोक्ताको अनुभव भने सरकारी दाबीभन्दा फरक देखिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा अझै पनि ग्यास सहज रूपमा पाउन नसकेको उपभोक्ताको गुनासो छ । डिलरमा खाली सिलिन्डर बुझाएपछि भरिएको सिलिन्डरका लागि हप्तौँ कुर्नुपर्ने अवस्था कायमै छ ।

पछिल्लो समय बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेटहरू उपत्यका प्रवेश गर्न कठिन भएपछि बजारमा अभाव चर्किएको थियो । अहिले भने सरकारले वैकल्पिक सडक प्रयोग गरेर ग्यासको आपूर्ति बढाइएको जनाएको छ । निगमले दैनिक करिब ४० हजार सिलिन्डरसम्म वितरण भइरहेको जनाएको छ । यसले बजारमा देखिएको अभाव विस्तारै हट्दै जाने सरकारको विश्वास छ ।

तर, आपूर्ति बढेको भनिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन भने अझै सकेका छैनन् । उपत्यकाका कतिपय डिलरमा ग्यास लिन पुगेका उपभोक्ताले खाली सिलिन्डर बुझाएपछि १/२ हप्ता कुर्नुपरेको बताएका छन् ।

विशेषगरी लामो समयदेखि ग्यासको अभाव झेलिरहेका उपभोक्ता अहिले बजारमा ग्यास आउन थालेको जानकारी पाएपछि डिलरमा पुग्ने गरेका छन् । तर, माग एकैपटक बढ्दा आपूर्ति भएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसकेको व्यवसायीहरूको भनाइ छ ।

गौशला बसोबास गर्दै आएकी सबिना यतिबेला ग्यास अभावमा भौतारिरहेकी छीन् । १० दिनदेखि ग्यासको डिलर धाइरहेको उनले बताइन् ।

‘भदौ २१ गते आइतबार छोडेको सिलिण्डर, अझै ग्यास पाएको छैन ।’ उनले भनिन्, ‘एक सातामा आउँछ भनेर ना टिपाएको १० दिन बितिसक्दा पनि ग्यास पाइएको छैन ।’

उनका अनुसार, एउटा सिलिण्डर छोडेको १० दिन बितिसक्यो अर्को सिलिण्डर पनि सकिनै लागेको छ, तर ग्यास कहिले पाउने हो थाहा छैन । एउटा सिलिण्डर ग्यासका लागि १०\१२ दिनसम्म डिलर धाउँदा थकित हुनुपरेको उनले सुनाइन् ।

सबिना मात्रै होइन, ललितपुर स्थित एकताटोलमा बसोबास गर्दै आएकी पार्वतीले पनि ग्यास अभावमा भौतारिनु परेको सुनाइन् ।
‘एउटा सिलिण्डर ग्यासका लागि २ साता कुर्नुपर्यो ।’ उनले भनिन्, ‘त्यो पनि ३ हजार २०० रुपैयाँ तिरेर ।’

उनका अनुसार, हुन त २१/२२ सयमा पाउने ग्यास हो, तर नपाएपछि जति भने पनि तिर्न बाध्य हुनुपर्ने रहेछ । २ सातासम्म एसटिसी ग्यास नपाएपछि गौतम ग्यास ३२ सय तिरेर ल्याएको उनले बताइन् ।

माग अनुसार ग्यास आपूर्ती गर्नै नसकेको ग्यास ग्यास व्यवसायी राजेन्द्र बताउँछन् । उपभोक्ताहरु सिलिण्डर बोकेर आउँछन्, तर आफुसँग ग्यास नभएपछि नाम टिपाउँदै टोकन दिँदै गरेको उनले बताए ।

‘ग्यास आउन त ४/५ दिनमा एक पटक २०/२५ सिलिण्डर आउँछ, तर माग नै धेरै हुन्छ पुर्याउनै सकिदैन’ उनले भने ।
गत फागुनमा पश्चिम एसियामा द्वन्द्व चर्किएसँगै सुरु भएको एलपी ग्यासको अभाव अझै हट्न सकेको छैन । द्वन्द्वका कारण ग्यासको आयात प्रभावित भएपछि सरकारले फागुन ९ गतेदेखि १४.२ किलोको सिलिन्डरमा आधा अर्थात् ७.१ किलो ग्यास मात्र बिक्री गर्न थालेको थियो । आपूर्ति क्रमशः सहज हुँदै गएको भन्दै सरकारले असार अन्तिमदेखि पुनः पूरा सिलिन्डर ग्यास बिक्री–वितरण सुरु ग¥यो । तर आपूर्ति सहज हुन नपाउँदै १० गतेको भोटेकोशी बाढी र काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यासको आपूर्तिमा थप समस्या देखिएको हो ।

ग्यास अभावसँगै चर्को आलोचना बढ्दै गएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले गत बिहीबार पदबाट राजीनमा नै दिनुप¥यो । उनले अघिल्लो दिन (बुधबार) संसद्को उद्योग समितिको बैठकमा ‘ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । सोही विषयमा आलोचना भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  ०७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।