गरिमा विकास बैंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग


काठमाडौँ । गरिमा विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकका अनुसार कर्मचारीहरूको एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।

त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनाका लागि स्थानीय तहसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले प्राकृतिक विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ । साथै, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।