ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापाक्षेत्रीका अनुसार डिएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ आफन्तको नमूना सङ्कलन भइसकेको छ ।
प्रयोगशालाका प्रमुख थापाले भने, “अहिलेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको ल्याबमा ८३७ शव र ८२५ वटा परिवारका सदस्यको नमूना आएको छ । प्राप्त आफन्तको रगतको नमूनामध्ये ५८८ वटाको डिएनए परीक्षण भइसकेको छ भने ८३७ मध्ये १९ वटा शवको मात्र डिएनए परीक्षण भएको छ ।”
प्रयोगशालामा प्राप्त १ हजार ६६२ नमूनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उनको भनाइ छ । यो काम परिवार र आफन्तले सोचेजस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको उनले बताए।
“कुनै व्यक्तिको शरीरबाट लिइएको नमूनाबाट प्राप्त डिएनएले उसको जैविक पहिचानसम्बन्धी जानकारी बोकेको हुन्छ । डिएनए परीक्षण चिकित्सा विज्ञानमा अनुसन्धानदेखि विपद्मा मृत्यु भएकाको शव पहिचानका लागि वैज्ञानिक प्रक्रिया मानिन्छ”, प्रयोगशालाका प्रमुख थापाले भने ।






प्रतिक्रिया