म्याग्दी । एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ ।
कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित विद्युत्गृह निर्माणस्थलबाट आजदेखि मुख्य सुरुङ जोड्ने ‘अडिट’ सुरुङ निर्माण सुरु गरेको हो । जलविद्युत् आयोजनाको मुख्य सुरुङमा पुग्ने पहुँचमार्गलाई ‘अडिट’ भनिन्छ ।
आयोजनाका सामाजिक विकास, प्रशासन र जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले पहुँचमार्ग (अडिट) खनेर सकिएपछि चार ठाउँबाट मुख्य सुरुङ निर्माण गरिने जानकारी दिए। “भालेबासस्थित ४८५ मिटर लामो पहिलो नम्बर अडिटको तीन महिनामा १३० मिटर सुरुङ खनिएको छ,” उनले भने, “विद्युत्गृहको चौथो तथा अन्तिम अडिटको दूरी १७० मिटर हुनेछ् ।”
पाँच किलोमिटर छ सय मिटर मुख्य सुरुङ रहने आयोजनाले छिट्टै बाँध र गाडपारका थप दुई ठाउँबाट ‘अडिट’ सुरुङ खन्ने तयारी गरेको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताए। उनका अनुसार अडिटसहित यस आयोजनाले सात किलोमिटर लामो सुरुङ बनाउने भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माणको तयारी भएको छ । आयोजनाका निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले बर्खालगत्तै बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यलाई समानान्तर रुपमा अघि बढाउने बताए।
“सिभिल ठेकेदार ‘एन्जेलिक इन्टरनेसनल’ र साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ,” उनले भने, “बर्खायाम सकिएलगत्तै थप जनशक्ति र उपकरण परिचालन गरेर विद्युत्गृह र बाँध निर्माणको तयारी गरेका छौँ ।”
‘रन अफ द रिभर’ आयोजनाको एक किलोमिटर ‘पेनस्टक पाइपलाइन’ रहनेछ् । विद्युत्गृहदेखि आउटलेटको उचाइ ४८० मिटर रहेको छ । प्रवद्र्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन तयार भएको छ ।
आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनास्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइने भएको छ ।
चालिस अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैङ्कको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैङ्कको लगानी रहनेछ । अन्नपूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थितिमा सुरुङ खन्न थालिएको छ ।







