काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।
बिहीबारदेखि एक हजार दरका नयाँ नोट प्रचलनमा ल्याउन लागिएको नेपाल राष्ट्र बेंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
एक हजार दरको साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो नोट चलनचल्ती ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र सोको मुनि १००० अंकित पानी छाप रहेको छ ।
नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तिहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको छ ।
चलनचल्तीमा ल्याइने एक हजारको नयाँ नोटको सिरिज २०२५ र संकेत नम्बर९२०००००१ देखि ५०९९९९९९ रहेको छ ।
यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।









