लघुवित्तको ५९ प्रतिशत कर्जा कृषि क्षेत्रमा, खराब कर्जा १०.४२ प्रतिशत पुग्यो


काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले कुल कर्जा लगानीको करिब ५९ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन २०८२/८३ चौथो त्रयमास–२०८३ असार’ अनुसार लघुवित्तहरूको कृषि क्षेत्रमा भएको कर्जा लगानी ३ खर्ब १३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यो कुल कर्जा लगानीको ५८.६३ प्रतिशत हो ।

राष्ट्र बैंकका अनुसार असार २०८३ मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ५ खर्ब ३३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यसमध्ये सेवा तथा व्यवसाय क्षेत्रमा १ खर्ब ९ अर्ब १९ करोड रुपैयाँ, अर्थात् २०.४५ प्रतिशत कर्जा प्रवाह भएको छ ।

त्यस्तै थोक कर्जातर्फ ४६ अर्ब २० करोड रुपैयाँ अर्थात् ८.६५ प्रतिशत, घरेलु तथा लघु उद्योगतर्फ १४ अर्ब ११ करोड रुपैयाँ अर्थात् २.६४ प्रतिशत र अन्य क्षेत्रमा ५१ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ९.६२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

कर्जासँगै बढ्यो खराब कर्जाको दबाब

लघुवित्तहरूको कर्जा लगानीसँगै खराब कर्जाको दबाब पनि बढ्दै गएको छ । विशेषगरी खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटी एक वर्षमा १०.०९ प्रतिशतले बढेर ४ खर्ब ८७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

तर, यही अवधिमा निष्क्रिय कर्जा ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यो कुल कर्जा तथा सापटीको १०.४२ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको असारमा निष्क्रिय कर्जाको अनुपात ७ प्रतिशत थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको रकम ६३.८३ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

लघुवित्त क्षेत्रमा समग्र निष्क्रिय कर्जाको अनुपात ९.७८ प्रतिशत रहेको छ । निष्क्रिय कर्जाका लागि संस्थाहरूले ३७ अर्ब १९ करोड रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था गरेका छन् । उक्त रकम कुल बाँकी कर्जाको ६.९६ प्रतिशत र निष्क्रिय कर्जाको ७१.२० प्रतिशत बराबर रहेको प्रतिवेदनमा उल्लेख छ ।

खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरूको कर्जा नोक्सानी व्यवस्था पनि बढेको छ । यस्तो व्यवस्था ३४.८८ प्रतिशतले बढेर ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । निष्क्रिय कर्जाका लागि गरिएको व्यवस्थामा पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

पुँजीकोष ७५ अर्ब बढी

लघुवित्त वित्तीय संस्थाहरूको चुक्ता पुँजी ४१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । प्राथमिक पुँजी ६८ अर्ब १७ करोड रुपैयाँ र कुल पुँजीकोष ७५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै जोखिम भारित सम्पत्ति ५ खर्ब ९८ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार समग्र लघुवित्त क्षेत्रको प्राथमिक पुँजी–जोखिम भारित सम्पत्ति अनुपात ११.४० प्रतिशत र कुल पुँजीकोष–जोखिम भारित सम्पत्ति अनुपात १२.५६ प्रतिशत रहेको छ । नियामकीय न्यूनतम सीमाभन्दा यी अनुपात माथि रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर, सबै संस्थाको अवस्था समान नरहेको समेत प्रतिवेदनमा उल्लेख छ । असार २०८३ सम्म ८ वटा लघुवित्त वित्तीय संस्थाको पुँजीकोष अनुपात ८ प्रतिशतभन्दा कम रहेको छ भने १० वटा संस्था शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी व्यवस्थाअन्तर्गत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

खुद्रा लघुवित्तको नाफा बढ्यो

खराब कर्जा बढेको अवस्थामा पनि खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरूको खुद नाफा भने बढेको छ । असार २०८३ सम्म खुद्रा लघुवित्त संस्थाहरूको खुद नाफा ४८.१४ प्रतिशतले बढेर १० अर्ब ७८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । ४८ वटा खुद्रा कर्जा प्रदायक संस्थामध्ये दुई वटा संस्था खुद नोक्सानीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

अर्कोतर्फ थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरूको कुल कर्जा तथा सापटी ५.२५ प्रतिशतले घटेर ४६ अर्ब २१ करोड रुपैयाँमा झरेको छ । यी संस्थाको निष्क्रिय कर्जा अनुपात भने ३.०४ प्रतिशत रहेको छ ।

असार २०८३ सम्म नेपालमा ५१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् । तीमध्ये तीन वटा थोक कर्जा प्रदायक र ४८ वटा खुद्रा कर्जा प्रदायक छन् । लघुवित्त संस्थाका देशभर ४ हजार ९२४ शाखा रहेका छन् भने सदस्य संख्या ६५ लाख ३० हजार पुगेको छ । कर्जा लिने सदस्यको संख्या २७ लाख १३ हजार रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यसरी लघुवित्त क्षेत्रमा कर्जा लगानी विस्तारसँगै कृषि क्षेत्रमा ठूलो हिस्सा कर्जा प्रवाह भएको देखिए पनि कर्जाको गुणस्तरमा भने दबाब बढेको छ । विशेषगरी खुद्रा लघुवित्तमा कर्जा तथा सापटी बढ्दा निष्क्रिय कर्जाको अनुपात पनि ७ प्रतिशतबाट बढेर १०.४२ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।