प्रतिकूल मौसमका कारण उडान प्रभावित


काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।

बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए। यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित भएको छ ।

हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीका साथै भारतको वनारस र कलकत्तामा उडान भर्दै आएको छ ।

यस्तै, यती एयरलाइन्सले आज सूचना जारी गरी प्रतिकूल मौसमका कारण यति एयरलाइन्सका उडान ढिलाइ र समय परिवर्तन हुनसक्ने जनाएको छ । यती एयरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि एयरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो जानकारी जाँच गर्न अनुरोध गरेको छ ।

भिटिविलिटी कम हुँदा यतीको पोखरा उडान हुन नसकेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । मौसमका कारण अन्य गन्तव्यस्थलको पनि उडान समयमा हुन नसकेको प्रवक्ता बर्तौैलाले बताए। आन्तरिक उडान अवरुद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको चाप बढेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।