कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन


बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रुपमा विद्युत् उत्पादन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको भारी वर्षासम्मको प्रक्षेपणका साथै पानी पर्ने क्रम लगातार भइरहेका अवस्थामा जल सतह बढ्ने र यसका कारण हुनसक्ने जोखिमसमेतलाई दृष्टिगत गरी पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिए।

हाल कुलेखानी जलाशयको जल सतह १ हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले ३ वटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए। प्रमुख राउतका अनुसार कूल १०६ मेगावाट क्षमताको कुलेखानी आयोेजनाको पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

जल सतह १ हजार ५२७ मिटर पुगेपछि सर्वसाधारणलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनीस्वरुप साइरन बज्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।