काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दशैं नजिकिँदै जाँदा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ ।
बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्डको अवस्था अझै पूर्ण रूपमा सहज नभएकाले सडकको अवस्थाको अध्ययन र मौसमको मूल्यांकन गरेपछि मात्रै बुकिङ खोल्ने तयारी गरिएको हो ।
दशैंका लागि उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले यातायात व्यवसायी तथा सरकारी निकायले अग्रिम टिकट बुकिङ व्यवस्थापनको तयारीलाई तीव्रता दिएका छन् । यातायात व्यवसायी र सरकारी निकायबीच भएको छलफलपछि असोज १५-१६ गतेपछि बुकिङ खोल्ने तयारी अघि बढेको हो ।
दशैंको समयमा काठमाडौँ उपत्यकाबाट देशका विभिन्न जिल्लातर्फ जाने यात्रुको संख्या अत्यधिक हुने गर्छ । विशेषगरी घटस्थापनापछि यात्रुको चाप बढ्ने भएकाले बसको टिकट समयमै नपाउने समस्या विगतका वर्षदेखि देखिँदै आएको छ । यसपटक पनि यात्रुको चापलाई ध्यानमा राख्दै अग्रिम टिकट बुकिङ व्यवस्थित गर्ने तयारी भएको हो ।
गत बुधबारदेखिको निरन्तर वर्षाले अझै राजमार्गहरु पूर्ण रुपमा खुलेका छैनन् । केही मात्रामा राजमार्ग खुल्न थालेपछि टिकट बुकिङ खोलिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले बताए ।
‘पहिला बाटोको अवस्था हेरिन्छ, कहाँ कस्तो बाटो छ, त्यसको अवस्था कस्तो छ भन्ने हेरेपछि मात्रै बुकिङ खोल्ने निर्णय हुन्छ,’ उनले भने, ‘राजमार्ग खुल्न थालेपछि टिकट बुकिङ खुल्ला गरिने छ ।’
उनका अनुसार, विभागले यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी गरेको छ । अनलाइनबाट टिकट लिन नसक्ने यात्रुले भने सम्बन्धित यातायात कम्पनीको आधिकारिक काउन्टर तथा आधिकारिक परिचयपत्र बोकेका कर्मचारीमार्फत मात्रै टिकट लिन विभागले आग्रह गरेको छ ।
गत वर्षतिर करिब १२ लाख यात्रुहरु उपत्यकाबाट बाहिरीने गरेको उनले बताए । यस वर्ष बाढीका कारण केही कमी होला तर १० लाख भन्दा माथि भने उपत्यकाबाट बाहिरीने अनुमान रहेको उनको भनाई छ ।
बिचौलियाबाट टिकट लिँदा यात्रु ठगिने भएकाले यात्रुलाई पनि सचेत रहन विभागले आग्रह गरेको छ । त्यसका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सम्बन्धित निकायको सहभागितामा विभिन्न जिल्लामा समिति गठन गर्ने, नागरिक सहायता कक्ष तथा हेल्थ डेस्क सञ्चालन गर्ने तयारी छ । उपत्यकाबाट बाहिरिने मुख्य नाकामा पनि यात्रुको चाप व्यवस्थापनका लागि विशेष योजना बनाइएको छ ।
थानकोट–नागढुंगा, कोटेश्वर, फर्पिङ, कलंकी, बालाजु, जगाती तथा साँगा भञ्ज्याङलगायत क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको छ ।
सहायता कक्षबाट ओभरलोडिङ, एउटै टिकटमा धेरै यात्रु, सिट नपाएर उभिएर यात्रा गर्नुपर्ने अवस्थालगायतका विषयमा अनुगमन गरिनेछ ।
यस वर्षको दशैं यात्राका लागि सबैभन्दा ठूलो चुनौती सडकको अवस्था बनेको छ । केही दिनअघिसम्म लगातार वर्षा हुँदा विभिन्न राजमार्ग तथा सहायक सडकमा पहिरो जाने, सडक भासिने र यातायात अवरुद्ध हुने समस्या देखिएको छ ।
देशका विभिन्न प्रमुख सडकमा वर्षाका कारण क्षति पुगेको छ । सडक विभागले क्षतिग्रस्त सडकमा मर्मत, डाइभर्सन तथा अस्थायी संरचना निर्माणको काम अघि बढाएको जनाएको छ । दसैंअघि यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सडक मर्मतलाई तीव्रता दिने तयारी गरिएको छ ।
यातायात व्यवस्था विभागले यसपटक सार्वजनिक सवारीको भाडा नबढ्ने जनाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन नगरेसम्म हाल कायम भाडादर नै लागू हुने विभागको भनाइ छ । सरकारले तोकेको अधिकतम भाडाभन्दा बढी रकम असुल्ने व्यवसायी तथा सवारी सञ्चालकमाथि कडा कारबाही गरिने विभागले जनाएको छ ।
विभागले चाडपर्वका समयमा यात्रुवाहक सवारी सञ्चालन हुने मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण गरी आवश्यक मर्मतसम्भार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सडकको अवस्था आम यात्रुले जानकारी पाउने गरी सूचना प्रवाह गर्नसमेत भनिएको छ ।
चाडपर्वका बेला लामो दूरीका सवारीसाधनमा चालकको थकानका कारण दुर्घटना हुन नदिन २५० किलोमिटरभन्दा लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गरिने भएको छ ।
त्यस्तै, चाडपर्वका बेला लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गर्ने तयारी गरेको छ ।







