काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोश्वारा हुलाकसँग सम्झौता गरेको छ ।
कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो ।
कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार कामपाबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ । कामपाका विभाग, महाशाखा, सचिवालय, एकाइ र आयोजनाबाट चलानी हुने पत्रलाई केन्द्रीय सम्पर्क एकाइमा सङ्कलन गरिने जनाउँदै उनले यसरी प्राप्त भएका पत्रलाई सम्बन्धित निकाय, जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइने बताए ।
“हुलाक कार्यालयले महानगरबाट प्राप्त हुलाक वस्तु प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्ने, पठाउने वा डेलिभरी एजेन्टमार्फत सम्बन्धित प्राप्तकर्तालाई बुझाउनेछ । वितरणपछि प्राप्त हुने भर्पाइ महानगरपालिकालाई उपलब्ध गराउने र सेवाबापतको मासिक बिलसमेत पेस गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ”, विभागका प्रमुख काफ्लेले भने ।







