धनकुटा । अलैँचीको मुख्य सिजनमै मूल्य घटेपछि धनकुटाका किसान चिन्तित बनेका छन् । भदौको पहिलो साता ९८ हजार रुपैयाँ प्रतिमनमा कारोबार सुरु भएको यो सिजनको अलैँची पछिल्लो समय ८५ हजार रुपैयाँ प्रतिमनमा कारोबार भइरहेको छ । एक महिनाको अन्तरालमा अलैँचीमा प्रतिमन १३ हजार रुपैयाँले कमी आएको हो ।
मूल्य निरन्तर ओरालो लागेपछि समस्या परेको धनकुटाको पाख्रीबास नगरपालिका–१, सान्नेका कृषक निर्मल स्याङ्देन बताउछन् । “किसानले अलैँची उत्पादन गर्नुअघिसम्म मूल्य राम्रै थियो तर उत्पादन बजारमा ल्याएसँगै मूल्य घट्यो,” स्याङ्देन भन्छन् ।
दसैँअघिको यो समय अलैँचीको मुख्य सिजन मानिन्छ । किसानले यतिबेला नै अलैँची बजारमा ल्याउने गर्छन् । बजारमा आउनासाथ मूल्य घटेको र व्यापारीले पनि ‘स्टक’ बढेको बढान थालेको अर्का किसान लाखमान घिसिङले बताए ।
गत वर्ष यो सिजनमा ९५ हजार प्रतिमन सम्ममा कारोबार भएको थियो तर अहिले पछिल्लो कारोबार मूल्यभन्दा अझ घट्न सक्ने व्यापारीको अनुमान छ ।
यसअघि असोज पहिलो साता ८० हजार रुपियाँ प्रतिमनमा कारोबार भएकोमा वर्षाका कारण आपूर्ति कम भएकाले मात्र केही बढेको अलैँची व्यापारी श्यामशाह बताउछन् । उनका अनुसार नेपालको अलैँचीको मूल्य निर्धारण भारतीय बजारमा निर्भर हुने र भारतको अलैँची अहिलेसम्म बजारमा नआएकाले यो मूल्यमा कारोबार भइरहेको छ । भारतको सिक्किम तथा आसामको अलैँची बजारमा आएपछि उत्पादनका आधारमा अझै घट्न सक्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना पनि अलैँचीको बजार भारतमा भरपर्ने भएकाले भारतमा उत्पादन घटे मात्र नेपालको अलैँचीले भाउ पाउने बताउछन् । धनकुटामा चार दशकयता अलैँचीको खेती हुँदै आएको छ । जिल्लामा करिब १३३ हेक्टर क्षेत्रफलबाट ४२ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ । धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका, साँगुरीगढी गाउँपालिका तथा छथर जोरपाटी गाउँपालिकामा अलैँचीको व्यावसायिक खेती हुने गरेको छ ।







